चितवन । यही भदौ १० गते आएको भोटेकोसी बाढीपछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरू चिन्तित देखिएका छन् । कुनै पनि बेला त्रिशूलीमा बाढी आएर नोक्सान पुर्याउने चिन्ता उनीहरूमा बढेको छ ।
इच्छाकामना गाउँपालिका–५, त्रिशूली किनारमा बसोबास गर्दै आएकी सानी गौचन आफूहरू असुरक्षित रहेको महसुस गर्छिन् । ४५ वर्ष यहीँ बिताएकी उनी भोटेकोसी बाढीपछि झस्कन थालेकी छन् ।
उनले भनिन्, “बाढी देखेका थियौँ, यस्तो विनाशकारी देखेका थिएनौँ । त्यो दिन सम्झँदा अझै पनि मनमा अत्यास लाग्छ ।” पानी पर्दा समेत फेरि घर छाड्नुपर्ने हो कि भन्ने डरले उनलाई सताइरहेको छ ।
मुग्लिन बजारमा विगत ४५ वर्षदेखि होटेल चलाउँदै आएकी कोपिला गौचन वर्षा हुन थालेपछि कामदारदेखि सबैलाई सुरक्षित गर्न थालेको बताउँछिन् ।
अहिले खोला सुसउँदा त्रासमा बस्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछिन् । “पुर्ख्यौली काम छोड्नु भएन, अझै हामी सुरक्षित छौँ जस्तो लाग्दैन,” उनले भनिन् ।
स्याङ्जा स्थायी ठेगाना भई विगत ३२ वर्षदेखि मुग्लिननजिकै व्यवसाय गर्दै आएका सेख अलाउदीन मियाँलाई अहिले पानीको आवाज सुनेपछि आफूले राखेका सामग्रीतर्फ ध्यान जान्छ । नुवाकोटमा रहेकी छोरी बेखबर भएपछि आफू पनि त्यस्तै हुने हो कि भन्ने चिन्ताले उनलाई सताइरहेको छ ।
भदौ १० गतेको भोटेकोसी बाढीपछि उनलाई रातमा राम्रो गरी निन्द्रा लाग्न छाडेको छ । “साना बालबालिका लिएर बस्नुपर्ने, त्यहीमाथि त्रिशूलीको डर,” उनले भने ।
त्रिशूलीमा र्याफ्टिङ गर्न आएकालाई खाना, खाजा खुवाउँदै आएका नारायण श्रेष्ठ व्यवसाय छाड्ने कि के गर्ने भन्ने दोधारमा छन् । सँगै व्यवसाय गरेका साथीहरूले छाडेर गएपछि आफू दोधारमा रहेको उनी बताउँछन् ।
विनाशकारी बाढीपछि व्यवसाय र आफ्नो जीवनमा नै जोखिम बढेको उनले महसुस गरेका छन् । उनले भने, “बाढीसँग डर होइन, विनाशकारी बाढीसँग अझै हामीलाई डर छ ।”
अहिले पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली किनारमा रहेका यस्ता व्यवसायी तथा परिवार त्रासमा दिन र रात बिताउन बाध्य छन् । अब फेरि समस्या आउँदा के गर्ने भन्ने चिन्ता उनीहरूमा थपिएको छ ।
रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनको देवघाटमा आएर यो नदी कालीगण्डकीमा मिसिएपछि नारायणी बन्छ । त्रिशूली नदी गहिरो छ । नदीका किनारमा मानव बस्तीसँगै बजारहरू छन् । ती बस्ती पुराना हुन् ।
विगतका वर्षहरूमा पनि बाढी आउँथ्यो । तर, यस वर्ष निकै ठूलो बाढी आएपछि तीन जिल्लामा ठूलो जनधनको क्षति भएको छ । क्षति नभएका बस्ती र बजार क्षेत्रका बासिन्दामा पनि त्रास कायम रहेको हो । रासस





प्रतिक्रिया