मुग्लिङ । पृथ्वी राजमार्गको कृष्णभिरबाट मङ्गलबार चार वटा एलपी ग्यास बुलेट र २५ वटा भरिएका सिलिन्डर बोकेका ट्रक पार भएका छन् । कृष्णभिरमा भदौ १४ गते यो राजमार्ग भासिएपछि यातायात अवरुद्ध भएको थियो ।
नयाँ सडक खोलेर दुई दिनअघि अत्यावश्यक सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गरिए पनि मालवाहक सवारीसाधन भने मङ्गलबार पहिलो पटक छाडिएको हो । भरिएको ग्यास बुलेट वैकल्पिक राजमार्गबाट यसअघि काठमाडौँ पुग्न नसक्दा काठमाडौँमा ग्यास अभाव भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले राजमार्गमा साँझ चार वटा बुलेट, ग्यासका सिलिन्डर भरिएका २५ वटा ट्रक, ४० वटा पेट्रोलियम पदार्थ भरिएको ट्याङ्रले कृष्णभिर पार गरेको जानकारी दिए ।
पृथ्वी राजमार्ग बिहीबारदेखि नियमित सञ्चालनमा ल्याउने तयारी सडक विभागले गरिरहेको छ । कृष्णभिरबाट ग्यास बुलेट काठमाडौँ जान लागेसँगै काठमाडौँमा देखिएको ग्यास अभाव क्रमशः कम हुँदै जाने अपेक्षा उद्योगीले गरेका छन् ।





प्रतिक्रिया