आमालाई ६ महिना र बाबुलाई ४२ दिन सुत्केरी बिदा दिने तयारी


काठमाडौँ । सरकारले सुत्केरी बिदाको अवधि बढाउन लागेको छ । आमालाई ६ महिना र बाबुलाई ४२ दिन पुर्‍याउन लागिएको हो । अहिले आमालाई ९० दिन र बाबुलाई १५ दिन बिदा दिइदै आइएको छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौत्तमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ संशोधन विधेयक तयार भएको छ । अब मन्त्रिपरिषद् हुँदै संसद्‍मा लैजाने तयारीमा मन्त्रालय छ ।

उनका अनुसार विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ ।

‘सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा यो महत्त्वपूर्ण नीतिगत परिवर्तन हो । जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी पनि हो,’ मन्त्री गौत्तमले भनिन् ।

बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी नभएर साझा दायित्व भएको उनले बताएकी छन् ।

प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार  ०९ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।