काठमाडौँ । सरकारले सार्वजनिक सवारीको दर्ता खुला गरेको छ। असोज १ गतेदेखि लागु हुनेगरी केही सर्तसहित यात्रुबाहक सार्वजनिक सवारीसाधनको दर्ता खुलाएको हो।
मंगलबार जारी विज्ञप्तिमार्फत यातायात व्यवस्था विभागले सर्तसहित असोज १ गतेदेखि लागु हुने गरी यात्रुबाहक सार्वजनिक सवारीको दर्ता खुलाएको जनाएको छ।
विभागले सातै प्रदेशका यातायात मन्त्रालय र सबै स्थानीय तहहरूलाई परिपत्र गर्दै सार्वजनिक सवारीको दर्ता खुलाएको जानकारी गराएको हो।
विभागका अनुसार उपत्यकाबाहिर विद्युतीय र आईसीई (डिजेल)दुबै सवारी दर्ता खुला गरिएको छ तर विद्युतीय सवारीलाई प्राथमिकता दिन विभागले भनेको छ।
यता, काठमाडौं उपत्यकाभित्र भने सबै खाले नयाँ सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको छैन। उपत्यकाभित्र हाललाई स्कुल बस र सट्टाभर्ना हुने सवारीमात्र दर्ता हुने व्यवस्था विभागले गरेको छ।
उपत्यकाभित्रको रुट तथा सवारी व्यवस्थापनको लागि हाललाई सार्वजनिक सवारी दर्तामा लगाइएको रोक कायमै राखिएको विभागको भनाइ छ।





प्रतिक्रिया