काठमाडौँ । स्तन क्यान्सरसम्बन्धी जनचेतना बढाउन ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ। इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालको सहकार्यमा असोज १७ गते शनिबार बिहान ६ बजेदेखि पदयात्रा आयोजना गर्न लागेको हो ।
आयोजकका अनुसार पदयात्रा काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट सुरु भएर ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पुग्नेछ। कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहनेछ।
स्तन क्यान्सर समयमै पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान र समयमै उपचारबारे समुदायमा जानकारी फैलाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
क्यान्सरको उपचार तथा पुनःस्थापनाको क्रममा रहेका व्यक्ति र उनीहरूका परिवारलाई सामाजिक तथा भावनात्मक सहयोग आवश्यक रहेको सन्देशसमेत कार्यक्रममार्फत दिइने आयोजकको भनाइ छ।
इन्फिनिट केयर्सका इकाई प्रमुख दिजुप तुलाधरले पिंकवाकलाई पदयात्रामा मात्र सीमित नराखी सचेतना, आशा, साहस र ऐक्यबद्धताको अभियानका रूपमा अघि बढाउन खोजिएको बताए।
उनले स्तन क्यान्सरबारे खुलेर कुरा गर्ने वातावरण बनाउन, प्रारम्भिक पहिचानको महत्त्व बुझाउन र प्रभावित व्यक्ति तथा परिवारको साथमा समुदायलाई उभ्याउन कार्यक्रम आयोजना गरिएको बताए।
पिंकवाकको पहिलो संस्करण २०८० असोजमा आयोजना भएको थियो। त्यसमा ६०० भन्दा बढी सहभागी भएका थिए। सहभागीले स्तन क्यान्सरसम्बन्धी जानकारीमूलक सामग्रीसहित नक्सालको नारायण चौरदेखि स्वयम्भूसम्म पदयात्रा गरेका थिए।
यसपटकको दोस्रो संस्करणमा पनि स्तन क्यान्सर सचेतना, प्रारम्भिक पहिचान, सामुदायिक सहभागिता र क्यान्सर प्रभावित व्यक्ति तथा परिवारलाई सहयोग गर्ने उद्देश्यलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ।
कार्यक्रममा क्यान्सर केयर नेपाल, नेसनल अस्पताल तथा क्यान्सर सेन्टर, आईएसएस साउन्ड, नोभाला बायोटेक, पठाओ नेपाल, इसेवा, ह्याप्पी माइन्डस् लगायतका संस्था साझेदारका रूपमा रहेका छन्। नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको सहयोग रहेको आयोजकले जनाएको छ।
पिंकवाक इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपाल प्रालिको सामाजिक उत्तरदायित्वअन्तर्गतको सामुदायिक पहलका रूपमा आयोजना हुँदै आएको छ। इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपाल प्रालि इन्फिनिट कम्प्युटर सोलुसन्सको नेपालस्थित सफ्टवेयर विकास तथा आईटी सेवा केन्द्र हो।
क्यान्सर केयर नेपालले नेपालभर क्यान्सरसम्बन्धी सचेतना, रोकथाम, प्रारम्भिक पहिचान तथा प्रभावित बिरामीलाई आवश्यक सहयोगका क्षेत्रमा काम गर्दै आएको आयोजकले जनाएको छ।





प्रतिक्रिया