२ महिनामा ११ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति ?


काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को २ महिना (साउन–भदौ)सम्ममा ११ अर्ब बढी वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार २ महिनाको अवधीमा ३२८ वटा उद्योगका लागि ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

सो प्रतिबद्धता ३ वटा ठूला, २ वटा मध्यम र ३२३ वटा साना उद्योगका लागि प्राप्त भएको छ ।

समिक्षा अवधीमा रकमका आधारमा सबैभन्दा बढी पर्यटनमूलक उद्योगमा प्रतिवद्धता आएको छ । दुई महिनामा पर्यटनमुलक क्षेत्रका ७० उद्योगमा ३ अर्ब ७४ करोड २८ लाख ५० हजार रुपैयाँ बराबर प्रतिवद्धता आएको छ ।

त्यस्तै, उद्योग संख्यामा भने सबैभन्दा बढी सूचना प्रविधि (आइटी) क्षेत्रमा रहेको छ । आइटी क्षेत्रका २१२ उद्योगका लागि ८१ करोड ६९ लाख १७ हजार रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । उत्पादनमूलक क्षेत्रका १८ उद्योगमा १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ र सेवामूलक क्षेत्रमा २६ उद्योगका लागि ३ अर्ब ३० करोड ५४ लाख रुपैयाँ प्रतिवद्धता आएको छ ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार  १४ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।