काठमाडौँ । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्म आइपुग्दा सुन तोलामा २ हजार १०० रुपैयाँले बढेको हो ।
गत शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसको एक हप्तापछिको शुक्रबारसम्म आइपुग्दा सुन प्रतितोला २ हजार १०० रुपैयाँले बढेर ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेर ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार भने सुनको मूल्य घटेको छ । सोमबार सुन तोलामा १ हजार २०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार भने सुन तोलामा १ हजार ७०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार पुनः घटेर ३ लाखबाट तल झरेको थियो । बिहीबार सुन तोलामा २ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुन तोलामा ३ हजार ६०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ कायम भई यो साताका लागि कारोबार बन्द भएको हो ।
अन्तराष्ट्रिय बजारमा देखिएको उत्तरचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा उत्तरचढाव देखिएको हो । नेपालमा अन्तरराष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
यो साता चाँदीको मूल्यमा पनि उत्तरचढाव कायमसँगै वृद्धि भएको छ । गत साताको शुक्रबारको तुलनामा यो शुक्रबार सम्ममा चाँदी तोलामा १७५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार गत शुक्रबार प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी यो शुक्रबारसम्म आइपुग्दा प्रतितोला ४ हजार ७७५ रुपैयाँ पुगेको हो ।
साताको पहिलो कारोबार दिन आइतबार चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार भने चाँदी तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार एकैदिन चाँदी तोलामा १५० रुपैयाँले घढेर प्रतितोला ४ हजार ७७५ रुपैयाँ कायम भएर यो साताको कारोबार बन्द भएको हो ।






प्रतिक्रिया