काठमाडौँ । सरकारले बजारमा धेरै बिक्री हुने तोरी, भटमास र सूर्यमुखी तेलको गुणस्तर, शुद्धता र प्याकेजिङमा कडाइ गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले तीनवटै तेलको नयाँ गुणस्तर मापदण्डको मस्यौदा तयार गरेको हो ।
नयाँ मापदण्डले सिधै खान मिल्ने र नमिल्ने तेल स्पष्ट रूपमा छुट्याएको छ । सिधै खान नमिल्ने तेल उपभोक्ता प्याकमा बिक्री गर्न नपाइने र कन्टेनरमा ‘सोझै खानका लागि होइन’ भन्ने चेतावनी स्पष्ट रूपमा लेख्नुपर्ने व्यवस्था गरिएको छ ।
विभागको प्राविधिक समितिले ‘नेपाल गुणस्तर ०३ : २०३५ (दोस्रो संशोधन : २०८३)’ मार्फत तोरीको तेलको विशिष्टीकरण सम्बन्धी मापदण्ड तयार गरेको छ । यसअन्तर्गत तोरीको तेललाई उत्पादन प्रक्रियाका आधारमा ‘एक्स्प्रेस’ र ‘सल्भेन्ट–एक्सट्र्याक्टेड’ गरी दुई भागमा बाँडिएको छ ।
एक्स्प्रेसबाट निकालिएका सबै (रिफाइन्ड, भर्जिन, एक्स्पेलर) र सल्भेन्ट प्रक्रियाको ‘रिफाइन्ड’ तेललाई मात्र मानिसले सिधै खान योग्य मानिएको छ ।
तर, सल्भेन्ट प्रक्रियाको ‘ग्रेड–१’ तेल सिधै खान हुँदैन, यसलाई थप प्रशोधन गरेरमात्र प्रयोग गर्नुपर्ने व्यवस्था छ । यस्तो खान नहुने तेल उपभोक्ताले किन्ने प्याकेटमा बेच्न पाइँदैन भने कन्टेनरमा कम्तीमा ५० मिलिमिटरको ठूला अक्षरमा अंग्रेजीमा ‘नट फर डाइरेक्ट इडिबल कन्जम्प्सन’ (सोझै खानका लागि होइन) भनी अनिवार्य लेखिएको हुनुपर्ने छ ।
शुद्धताका हकमा तेलमा हानिकारक झार ‘आर्जेमोन मेक्सिकाना’ वा अन्य अखाद्य तेल मिसिएको हुनुहुँदैन । यसैगरी पेरोक्साइड भ्यालु अधिकतम १० मिलिइक्विभ्यालेन्ट तोकिएको छ भने विषाक्त धातुहरू जस्तै सिसा र आर्सेनिक ०.१ मिलिग्राम प्रतिकिलो, क्याडमियम १ मिलिग्राम र पारो ०.२५ मिलिग्राम प्रतिकिलोभन्दा बढी हुन नहुने कडा वैज्ञानिक सीमा निर्धारण गरिएको छ ।
त्यसैगरी, ‘नेपाल गुणस्तर १०३ : २०४२ (पहिलो संशोधन : २०८३)’ मार्फत भटमास तेलको नयाँ मापदण्ड तयार गरेको छ । नयाँ व्यवस्था अनुसार सल्भेन्ट एक्स्ट्र्याक्सन प्रक्रियाबाट निकालिने यस तेललाई ‘रिफाइन्ड’, ‘डिगम्ड’ र ‘ग्रेड–१’ मा विभाजन गरिएको छ, जसमध्ये रिफाइन्ड तेललाई मात्र सिधै खान योग्य मानिएको छ । डिगम्ड र ग्रेड–१ तेल वनस्पति घिउ वा रिफाइन्ड तेल बनाउने कच्चापदार्थ मात्र भएकाले यी तेललाई खुद्रा प्याकेटमा बेच्न पाइने छैन ।
साथै, यसको कन्टेनरमा पनि ५० मिलिमिटरको अक्षरमा ‘सोझै खानका लागि होइन’ भन्ने चेतावनी अनिवार्य लेख्नुपर्ने छ । लेगुमिनोसी परिवारको ‘ग्लाइसिन म्याक्स’ प्रजातिको स्वस्थ भटमासबाट मात्र निकाल्नुपर्ने यस तेलमा हानिकारक अफ्लाटक्सिन ३० माइक्रोग्राम प्रतिकिलोभन्दा बढी हुन पाइने छैन । रिफाइन्ड तेलमा हेक्जेन ५ पीपीएम र फस्फोरस अधिकतम १२ पीपीएम हुनुपर्ने सीमा तोकिएको छ ।
सूर्यमुखी तेलको गुणस्तर व्यवस्थित गर्न विभागले पहिलो संशोधनको मस्यौदा तयार पारेको छ । यसलाई पनि एक्स्प्रेस’ र सल्भेन्ट एक्स्ट्र्याक्टेड गरी दुई प्रकारमा बाँडिएको छ, जसमा दुवै प्रकारका रिफाइन्ड तेल र एक्स्प्रेसतर्फको ग्रेड १ तेल सिधै खानयोग्य हुनेछन् ।
तर, सल्भेन्ट एक्सट्र्याक्टेडतर्फको ग्रेड १ तेल सिधै खान नमिल्ने भएकाले उपभोक्ता प्याकमा बेच्न पाइने छैन र भाँडामा मेट्न नमिल्ने मसीले ठूला अक्षरमा खान नहुने चेतावनी लेखिएको हुनुपर्ने छ ।
तेल कृत्रिम रङ तथा स्वादमुक्त हुनुपर्ने छ भने पेरोक्साइड भ्यालु अधिकतम १० र अफ्लाटक्सिन ३० माइक्रोग्राम प्रतिकिलोभन्दा कम हुनुपर्ने छ । सिसा, आर्सेनिक, क्याडमियम र मर्करीजस्ता विषाक्त धातुको कडा सीमा यसमा पनि लागु गरिएको छ ।
मापदण्डले तेलको प्याकेट वा विज्ञापनमा ‘सुपर रिफाइन्ड, डबल रिफाइन्ड, एन्टी–कोलेस्टेरोल, कोलेस्टेरोल फाइटर, कोलेस्टेरोल फ्रेन्डली’ लगायत उपभोक्तालाई भ्रमित पार्ने दाबी प्रयोग गर्न रोक लगाएको छ । त्यस्तै, तेल प्याकेजिङमा एकपटक प्रयोग भइसकेका टिन वा प्लास्टिकका कन्टेनर पुनः प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ । नयाँ प्याकेजमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन मिति र खुद तौल स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।







