रसुवा–नुवाकोटसहित चार जिल्लामा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले विपद्को प्रभावमा रहेका रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाअनुसार असोज ७ गते बिहानसम्म ती जिल्लाका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। महाशाखाले चारवटै जिल्लालाई पहेँलो संकेतमा राख्दै मौसमसम्बन्धी पछिल्ला आधिकारिक सूचनामा ध्यान दिन आग्रह गरेको छ।

चितवनमा भने मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। यसअघि गएराति चितवनको कालीखोला वर्षा मापन केन्द्रमा ४१.४ मिलिमिटर वर्षा रेकर्ड भएको थियो।

हालैको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक सञ्जाल पुनःस्थापनाको काम भइरहेका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखामा थप वर्षाले समस्या बढाउन सक्ने देखिएको छ। वर्षाका कारण नदी तथा खोलानालामा पानीको सतह बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

यसैबीच बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ८ गतेदेखि १२ गतेसम्म देशका अधिकांश भूभागमा वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। सम्भावित वर्षालाई ध्यानमा राख्दै पूर्वतयारी अवस्थामा रहन र आवश्यक सतर्कता अपनाउन उनीहरूले आग्रह गरेका छन्।

यस विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार बसेको मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकमा समेत छलफल भएको थियो। बैठकले वर्षा गराउने मौसमी प्रणालीको निरन्तर निगरानी गर्ने र अवस्थाअनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सचेत गराउने निर्णय गरेको छ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार  ०६ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।