चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा न्यूनचापीय क्षेत्र विकसित भएको छ। उक्त मौसमी प्रणाली आगामी दिनमा थप सक्रिय हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभाग, मधेस प्रदेश तथा वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहनेछ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, मधेस प्रदेश तथा कोसी र वाग्मती प्रदेशका तराई भूभागका थोरै स्थानमा वर्षा हुनसक्नेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार  ०७ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।