काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा नजिकैको राहदानी विभागले दिँदै आएको सेवा प्रभावित भएको छ । राहदानी विभागमा प्रवाह हुने विद्युत् र इन्टरनेट सेवामा आगलागीका कारण अवरोध सिर्जना भएको र छपाइ प्रक्रियामा समेत प्रत्यक्ष असर परेको जनाइएको छ ।
राहदानी विभागको भवनअगाडि रहेको मूल सडकछेउमा आगलागीको घटना भएको थियो । “राहदानीको वितरणमा कठिनाइ भएको वर्तमान अवस्थालाई ध्यान दिई राहदानी आवेदन दिइसक्नुभएका सेवाग्राही सबैले धैर्य गरी सेवा लिइदिनुहुन विभाग सादर अनुरोध गर्दछ,” विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
रिद्धिसिद्धि यातायातको बा५ख ४२७६ नम्बरको बसमा आगलागी भएको थियो । बसमा आगलागी हुँदा नजिकैका विद्युत्को पोल र त्यसमा रहेका टेलिफोन, इन्टरनेटका तार समेत जलेका थिए ।
विभागले राहदानी वितरणमा कठिनाइ भएको अवस्थालाई ध्यान दिई राहदानी आवेदन दिइसकेका सेवाग्राही सबैलाई धैर्य गरी सेवा लिइदिन अनुरोध समेत गरेको छ ।








