मूल्यवृद्धि नियन्त्रण गर्न माग


काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले पछिल्लो समय चामल, दाल र तेललगायतका अत्यावश्यक खाद्य सामग्रीमा निरन्तर भइरहेको मूल्यवृद्धिले न्यून आय भएकालाई दैनिक जीवन चलाउन चुनौती भएको जनाउँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद मीनासिंह रखालले मूल्य वृद्धिले न्यून आय भएकालाई समस्या तुल्याएकाले समस्या समाधान गर्न माग गरे ।

सदस्य रामकुमारी झाँक्रीले पछिल्ला दिनमा विद्युतीय सवारीको प्रयोग र दुर्घटना बढिरहेकाले त्यस सम्बन्धी स्पष्ट नीति र कानुन आवश्यक रहेको बताए ।

सदस्य रेखाकुमारी यादवले पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरे । पत्रकारले गलत लेखेमा खण्डन गर्ने कानुनी व्यवस्था हुँदाहुँदै आक्रमण गरिनु निन्दनीय भएको उनको भनाई थियो ।

सदस्य रोशनी मेचेले अर्थमन्त्रीको भारत भ्रमणका क्रममा समकक्षीसँग भएको भेटवार्तामा किन नेपालको राष्ट्रिय झण्डा नराखेको भनी प्रश्न गरे । सदस्य सम्झना देवकोटाले देशमा ६० वटा ग्यास भर्ने उद्योग रहेको तर एउटाले अर्काको सिलिण्डर नसाट्दा बजारमा समस्या भएकोबारे सदनलाई जानकारी गराए ।

सदस्य सोमनाथ पोर्तेलले वर्तमान सरकारले दलित समुदायको परम्परागत पेसा प्रवद्र्धनका लागि छुट्याइएको ५० करोड रुपैयाँ मध्ये ४० करोड रुपैयाँ रकमान्तर गरेको आरोप लगाए ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार  १६ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।