नेशनल लाईफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण

एआई र डिजिटल मार्केटिङ सम्बन्धी प्रशिक्षण


काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान तथा ‘चेयरपर्सन क्लब’ सदस्यता वितरण गर्ने उद्देश्यले आयोजना गरेको वार्षिक कार्यक्रम भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ।

आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारित लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी ५६५ जनाको सहभागितामा दुई रात तीन दिनसम्म उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा, हालै भोटेकोशीमा आएको भीषण बाढी र प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्न र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै १ मिनेट मौनधारण गरी कार्यक्रम सुरु गरिएको थियो ।

कार्यक्रमको औपचारिक उद्घाटन कम्पनीकी चेयरपर्सन प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरेर गरिन्। उनले उद्घाटन मन्तव्यका क्रममा कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरूको सीप, क्षमता विकास र व्यावसायिकता अभिवृद्धिका लागि कम्पनीले निरन्तर सहयोग र सहकार्य गर्दै जाने बताइन् ।

साथै, अभिकर्ता सञ्जालमा नेतृत्व विकास महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसका लागि कम्पनीले आवश्यक लगानी गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्। त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्राप्त गरेको ऐतिहासिक उपलब्धि सम्पूर्ण नेशनल लाइफ परिवारको सामूहिक सफलता भएको बताए ।

उनले नयाँ आर्थिक वर्षको सुरुवातसँगै कम्पनी स्पष्ट लक्ष्य, मापनयोग्य रणनीति र उच्च पेसागत प्रतिबद्धताका साथ अघि बढिरहेकाले अभिकर्ता सञ्जाललाई थप मजबुत बनाउन र ग्राहक सेवाको गुणस्तर सुधार्न जोड दिइएको स्पष्ट पारे। कार्यक्रममा चेयरपर्सन क्लब सदस्यता वितरण गर्नुका साथै व्यक्तिगत कोड र सञ्जाल व्यवसायमा देशभरबाट प्रथम, द्वितीय र तृतीय हुने तथा समूहगत व्यवसायमा प्रथम हुने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।

साथै, सेन्चुरियन क्लब, नेशनल स्टार, नेशनल सुपरस्टार तथा लगातार १० वर्षसम्म क्लबमा छनोट हुन सफल अभिकर्ताहरूलाई चेयरपर्सन सिंहले विशेष सम्मान प्रदान गरिन्। कार्यक्रममा सहभागी अभिकर्ताहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न विषयमा प्रशिक्षण समेत दिइएको थियो। नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद साडारीले सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रशिक्षण दिँदै बीमालाई माध्यम बनाएर सम्पत्ति शुद्धीकरण गर्ने गतिविधि बढ्न सक्ने भएकाले शंकास्पद गतिविधिको सूक्ष्म निगरानी, ग्राहक पहिचान र कानुनी व्यवस्थाको पूर्ण पालनामा सचेत रहनुपर्ने धारणा राखे।

त्यसैगरी, प्रशिक्षक विश्वराज पौडेलले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिलाई बीमा व्यवसायसँग कसरी जोड्न सकिन्छ भन्नेबारे प्रशिक्षण दिए। उनले ग्राहकसँगको सम्पर्क, सामग्री निर्माण, व्यावसायिक योजना र सूचना व्यवस्थापनमा एआईको उपयोगिताका विषयमा प्रयोगात्मक जानकारी गराए। अर्का प्रशिक्षक संजोग कोइरालाले डिजिटल युगमा बीमा व्यवसाय विस्तारका लागि डिजिटल माध्यमको प्रभावकारी उपयोगबारे प्रकाश पारे। उनले डिजिटल प्लेटफर्म प्रयोग गर्दा कानुनी तथा नियामकीय व्यवस्थाको पालना गर्दै सत्यतथ्य सूचना मात्र सार्वजनिक गर्नुपर्ने र भ्रामक सूचना तथा गलत भाष्य सिर्जना हुनबाट जोगिनुपर्ने सुझाव दिए।

सम्मानित अभिकर्ताहरूले वर्षभरिको अनुशासन, कडा मिहिनेत र उत्कृष्ट कार्यसम्पादनपछि प्राप्त भएको यो सम्मानले आफूहरूको परिश्रमले सार्थकता पाएको अनुभूति भएको र कार्यक्रममा सहभागी हुन पाउनु गौरवको विषय रहेको बताए।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार  १७ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।