भारी वर्षाको जोखिमले विराटनगर र पोखराका विद्यालय दुई दिन बन्द


काठमाडौँ । अविरल तथा भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि विराटनगर र पोखरा महानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले आज र भोलि महानगरभित्र सञ्चालित विद्यालयमा पठनपाठन बन्द गर्ने जनाएको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना औँल्याएपछि विद्यार्थीको सुरक्षाका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

यस्तै, सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई ध्यानमा राख्दै पोखरा महानगरपालिकाले पनि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिनका लागि बन्द गरेको छ ।

मौसममा आएको अचानक परिवर्तन तथा प्राकृतिक प्रकोपको उच्च जोखिमका कारण पूर्वसावधानीस्वरूप असोज ८ र ९ गते सबै विद्यालयमा स्थानीय बिदा दिइएको महानगरपालिकाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी लगायतका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक अवरोध हुन सक्ने भएकाले सम्बन्धित निकायले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार  ०८ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।