काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएपनि व्यापार घाटा भने चुलिएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा २६.०२ प्रतिशतले बढेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा नेपालले ३ खर्ब २४ अर्ब ९३ करोड १४ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रुपैयाँको व्यापार घाटा बेहोरेकोमा पछिल्लो वर्ष मात्रै ६७ अर्ब ९ करोडले घाटा थपिएको हो ।
चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार ४ खर्ब १ अर्ब ५१ करोड ८९ लाख रुपैयाँको विदेशी वस्तु तथा सामान आयात भएको छ भने ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँको स्वदेशी वस्तु तथा सामान निर्यात भएको छ । समीक्षा अवधिमा आयातमा ३१.५८ र निर्यातमा ६१.८६ प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँको वस्तु आयात हुँदा ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो ।
पछिल्लो २ महिनामा मुलुकले ४ अर्ब ७८ अर्ब १० करोड ६५ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा मुलुकले ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष ३५.६४ प्रतिशतले वैदेशिक व्यापार बढेको छ ।
समिक्षा अवधीमा आयात–निर्यातको अनुपात ५.२४ प्रतिशत रहेको छ भने आयात–निर्यातको हिस्सा ८३.९८ प्रतिशत रहेको छ ।









