झापा । भारी वर्षाको सम्भावनासँगै झापामा बाढी, डुबान तथा अन्य विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि उद्धार टोलीदेखि आवश्यक उपकरणसम्म तयारी अवस्थामा राखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म कोशी प्रदेशसहित विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले पूर्वतयारी तीव्र पारेको हो ।
प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक श्रवणकुमार पोखरेलले सम्भावित विपद्का लागि स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए।
“जोखिमयुक्त क्षेत्र पहिचान गरेर सुरक्षाकर्मीलाई सतर्क अवस्थामा राखिएको छ । उद्धारका लागि आवश्यक सामग्री तथा सडक अवरुद्ध भए तत्काल सञ्चालन गर्न डोजर, स्काभेटर र लोडरलगायत उपकरण तयारी अवस्थामा राखिएको छ”, उनले भने ।
सम्भावित बाढी तथा डुबानका लागि डुङ्गा, त्रिपाल, खाद्य सामग्रीलगायत राहत सामग्रीसमेत तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।
स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित कार्यालयबीच निरन्तर समन्वय गरी आवश्यक परे तत्काल उद्धार तथा राहतमा परिचालन हुने व्यवस्था मिलाइएको उनले बताए।
प्रजिअ पोखरेलका अनुसार, झापा गाउँपालिका, गौरीगन्ज, गौरादहका केही वडा, शिवसताक्षीका तटीय क्षेत्र तथा भद्रपुरस्थित मेची नदी आसपासका बस्तीलाई बाढी तथा डुबानको जोखिमका दृष्टिले उच्च प्राथमिकतामा राखिएको छ । कनकाई, माई, बिरिङ, रतुवा, मावा, निन्दा र कमल खोलालगायत नदी तथा खोलाका तटीय क्षेत्रमा सतर्कता बढाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार जोखिमयुक्त क्षेत्रमा साइरन बजाउने, माइकिङ गर्ने तथा आवश्यक परे प्रभावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको छ ।
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (डिइओसी) मार्फत सूचना प्रवाह तथा स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।









