राप्ती नदी किनारमा नजान सशस्त्र प्रहरीको माइकिङ


दाङ । भारी वर्षाको सम्भावना रहेपछि दाङको देउखुरीस्थित राप्ती नदीको तटीय क्षेत्रमा नजान सशस्त्र प्रहरीले माइकिङमार्फत सर्वसाधारणलाई आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा सतर्कता बढाएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ हेडक्वार्टर ज्वालामाई गण, भालुवाङले राप्ती नदीको तटीय क्षेत्रमा पुगेर माइकिङ गर्दै नदी किनारमा नजान, जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षित स्थानमा रहन आग्रह गरेको गणका प्रमुख एसपी यदु कार्कीले जानकारी दिए ।

उनका अनुसार डिएसपी बाबुराम थापाको कमान्डमा खटिएको टोलीले नदीको तटीय क्षेत्रमा पुगेर सचेतनामूलक माइकिङ गरेको हो। नदीमा पानीको बहाव बढेको, पानी धमिलो भएको, ढुङ्गा तथा रूख बगाउँदै आएको वा असामान्य आवाज सुनिए तत्काल अग्लो तथा सुरक्षित स्थानमा जान सर्वसाधारणलाई आग्रह गरिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय दाङले बाढी, पहिरो, डुबान र कटानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सबै सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार अत्यावश्यक कामबाहेक टाढाको तथा रात्रिकालीन यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नजान र जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ।

राप्ती, बबईलगायत जिल्लाका विभिन्न नदी तथा जोखिमयुक्त क्षेत्रको पहिचान गरी आवश्यक सतर्कता अपनाइएको उनले बताए ।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार  १२ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।