विश्वमा जडान हुने औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत पुगेको छ । ‘विश्व रोबोटिक्स २०२६’ प्रतिवेदनअनुसार सन् २०२५ मा चीनमा तीन लाख ५४ हजार औद्योगिक रोबोट जडान भएका थिए । यो आँकडा अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बढी हो ।
फ्र्याङ्कफर्टस्थित अन्तर्राष्ट्रिय रोबोटिक्स महासङ्घ ९आइएफआर० का अध्यक्ष जेन हेफनरले एक दशकअघि सुरु गरिएको राष्ट्रिय रोबोटिक्स रणनीतिका कारण चीनले औद्योगिक क्षेत्रको आधुनिकीकरणमा उल्लेख्य प्रगति गरेको बताए । चीनको १५ औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) ले पनि रोबोटिक्स र कृत्रिम बौद्धिकताको प्रयोगलाई प्राथमिकता दिएको उनले उल्लेख गरे ।
चीनमा औद्योगिक रोबोटको माग विद्युतीय तथा विद्युतीय उपकरण, मोटर वाहन, धातु र मेसिनरी उद्योगबाट बढी आएको छ । सन् २०२५ मा विद्युतीय तथा विद्युतीय उपकरण उद्योगमा ९६ हजार चार सय, मोटर वाहन उद्योगमा ७८ हजार नौ सय र धातु तथा मेसिनरी उद्योगमा ७८ हजार ७०० रोबोट जडान भएका थिए ।
चिनियाँ रोबोट निर्माता कम्पनीको घरेलु बजारमा हिस्सा पनि बढेको छ । गत वर्ष चिनियाँ कम्पनीबाट आपूर्ति भएका रोबोटको जडान १५ प्रतिशतले बढेर एक लाख ९५ हजार पुगेको थियो । यो कुल जडानको ५५ प्रतिशत हो ।
आइएफआरका अनुसार चीनको औद्योगिक रोबोट बजार अझै सन्तृप्त भएको छैन । सन् २०२९ सम्म बजारमा वार्षिक ५ देखि १० प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको छ । जनसङ्ख्यामा आएको परिवर्तन र श्रमिक अभावले उद्योगमा स्वचालनको माग बढाउने तथा रोबोटको प्रयोगले उत्पादनलाई श्रमिक अभावप्रति थप लचिलो बनाउन सहयोग गर्ने महासङ्घले जनाएको छ ।









