अर्थमन्त्री डा वाग्ले र एआइआइबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता


काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ ।

कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डा वाग्लेले नेपालमा एआइआइबीको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनःनिर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्ष जियायीलाई आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा एआइआइबीकी अध्यक्ष जियायीले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गरे। उनले विपद्पछिको पुनःनिर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

अध्यक्ष जियायीले बैंकले ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइस्ड फण्ड’मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउनेछ । साथै, स्पेसलाइस्ड फण्ड विन्डो अन्तर्गतको अनुदान प्रयोग गरी एआइआइबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विचार उनले व्यक्त गरे ।

अर्थमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एआइआइबीको संस्थापक सदस्य राष्ट्र नेपालको आर्थिक विकासमा थप सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत उनले दोहोर्याए। सो अवसरमा अर्थमन्त्रीले नयाँ अध्यक्ष जियायीलाई बधाई दिँदै बैंकले संस्थापक सदस्यका रूपमा नेपाललाई पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे।

उनले एआइआइबीको लगानीमा हाल सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरे। साथै, बैंकको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्याएको क्षतिप्रति उनले दुःख व्यक्त गरे ।

अर्थमन्त्री डा वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा बैंकको आफ्नै स्रोतका साथै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गरिदिन आग्रह गरे।

छलफलकै क्रममा अर्थमन्त्री डा वाग्लेले अध्यक्ष जियायीलाई सन् २०२६ भित्रै नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिए ।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार  १० : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।