काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकमा विपद् व्यवस्थापन कार्यमा नेपाल चेम्बर अफ कमर्ससहित निजी क्षेत्रले गरेको सहयोगको सराहना गरिएकामा चेम्बरले सरकारप्रति साधुवाद व्यक्त गरेको छ।
बैठकको अध्यक्षता गर्दै गृहमन्त्री सुधन गुरुङले विपद्का बेला महत्त्वपूर्ण योगदान पुर्याउने निजी क्षेत्रलाई नेपाल सरकारका तर्फबाट सम्मान गरिने जानकारी दिएपछि सम्पूर्ण निजी क्षेत्र उत्साहित र प्रोत्साहित भएको चेम्बरले जनाएको छ। राज्यको उच्च तहबाट योगदानको कदर हुनुलाई चेम्बरले उच्च मूल्यांकन गरेको छ।
भोटेकोशीमा आएको बाढी तथा त्यसपछिका मनसुनजन्य विपद्का क्रममा खोज, उद्धार, राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङको सक्रियतामा गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भएका पहल र समन्वयलाई चेम्बरले सकारात्मक रूपमा लिएको छ। विपद्को समयमा सरकारी संयन्त्रसँगै निजी क्षेत्रका स्रोत, साधन, राहत सामग्री, स्वास्थ्य सेवा र यातायात उपलब्ध गराउन समन्वय महत्त्वपूर्ण रहेको बताइएको छ।
गृह मन्त्रालयले विपद् व्यवस्थापनलाई बहुक्षेत्रीय जिम्मेवारीका रूपमा अघि बढाउँदै संघ, प्रदेश, स्थानीय तह र सुरक्षा निकायबीच समन्वय बढाएको कदमको चेम्बरले स्वागत गरेको छ। चेम्बरका अनुसार विपद्का बेला निजी क्षेत्रले सरकारलाई स्वतःस्फूर्त सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि सहकार्यलाई थप व्यवस्थित बनाउन प्रतिबद्ध छ।
तत्कालीन राहतका साथै दीर्घकालीन पुनर्निर्माण, प्रभावित व्यवसायको पुनःस्थापना, आपूर्ति शृङ्खलाको निरन्तरता र प्रभावित क्षेत्रको आर्थिक गतिविधि सुचारु गर्न आवश्यक रहेकोमा चेम्बरले जोड दिएको छ। ३७औँ बैठकले प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनरुत्थानका काम अघि बढाउने निर्णय गरेकोमा त्यसलाई स्वागतयोग्य कदम मानिएको छ।
साथै, विपद् व्यवस्थापनमा निजी क्षेत्रसँग नियमित संवाद र समन्वयका लागि स्पष्ट संयन्त्र निर्माण गर्न चेम्बरले सरकारसँग आग्रह गरेको छ। यस्तो संयन्त्रमार्फत निजी क्षेत्रका उपलब्ध स्रोत तथा क्षमताको पूर्वपहिचान गरी विपद्का बेला तत्काल परिचालन गर्न सकिने चेम्बरको विश्वास छ।







