काठमाडौँ । रसुवा–त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले स्वेच्छिक रुपमा तलबबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३ सय ५३.५० रुपैयाँ योगदान गरेका छन् ।
प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै बैंकका कर्मचारीहरूले स्वेच्छिक रूपमा उक्त रकम संकलन गरेका हुन् । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रमहरूमा उपयोग हुने विश्वास लिइएको छ ।
कुमारी बैंकले सदैव सामाजिक उत्तरदायित्वलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै विपद्का समयमा प्रभावित समुदायको साथमा उभिने परम्परा कायम राखेको छ । कर्मचारीहरूको यो योगदानले मानवीय संवेदना, सामाजिक एकता तथा राष्ट्रप्रतिको उत्तरदायित्वलाई थप मजबुत बनाएको बैंकको विश्वास रहेको छ ।
यसअघि पनि कुमारी बैंकले त्रिशूली–भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार, पुनःस्थापना तथा पुनःनिर्माण कार्यमा सहयोग पु¥याउने उद्देश्यले ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको थियो । साथै, उक्त बाढीबाट प्रभावितहरुको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन गृह मन्त्रालयलाई ३९ लाख बराबरको अत्याधुनिक ड्रोन, पावर बैंक तथा जेनेरेटरलगायत आवश्यक विपद् व्यवस्थापन सामग्रीहरु उपलब्ध गराई सहयोग गरेको थियो ।







