काठमाडौँ । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रालि अन्तर्राष्ट्रिय स्तरको ‘एआई इन साइबर सेक्युरिटी अवार्ड’बाट सम्मानित भएको छ । इन्डोनेसियाको जकार्तामा आयोजित एएसओसिओ डिजिटल एआई अवार्ड २०२६ मा सूचना प्रविधि तथा साइबर सुरक्षा क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
संवेदनशील क्षेत्रका संस्थाहरूको साइबर सुरक्षा परीक्षण, निगरानी, प्रतिक्रिया तथा सुरक्षा प्रणाली सुदृढीकरणमा कृत्रिम बुद्धिमत्ता ९एआई० को प्रभावकारी प्रयोग गरेबापत कम्पनीले यो सम्मान प्राप्त गरेको हो ।
अक्टोबर ७, २०२६ मा जकार्तास्थित स्विसोटेल जकार्ता पीआईके एभिन्युमा आयोजित अवार्डी शोकेस कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुमन के। शर्माले कम्पनीको यात्रा, उपलब्धि र साइबर सुरक्षा दृष्टिकोण प्रस्तुत गरेका थिए ।
सन् २०११ मा सूचना प्रविधि समाधान प्रदायकका रूपमा स्थापना भएको इन्साइट टेक्नोलोजी हाल सयौँ संस्थालाई सेवा प्रदान गर्ने साइबर सुरक्षा तथा म्यानेज्ड टेक्नोलोजी सेवा प्रदायकका रूपमा विकसित भएको छ ।
शर्माले अवार्डलाई आफ्ना इन्जिनियर, विश्लेषक र कम्पनीमाथि विश्वास गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ग्राहकहरूको उपलब्धिका रूपमा व्याख्या गरेका छन् । क्षेत्रीय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा गौरवान्वित भएको उल्लेख गर्दै उनले नेपाली प्रविधि कम्पनीले विश्वव्यापी साइबर सुरक्षा क्षेत्रमा योगदान दिन सक्ने बताए ।
सन् १९८४ मा स्थापित एएसओसिओ एसिया र ओसियानाका २५ भन्दा बढी देशका राष्ट्रिय प्रविधि संघहरू आबद्ध क्षेत्रीय सूचना तथा सञ्चार प्रविधि संस्था हो ।







