चाडपर्व नजिकिएसँगै बजारमा पैसाको प्रवाह बढ्यो, राष्ट्र बैंकबाट एकैदिन बाहिरियो साढे ६ अर्ब रुपैयाँ


काठमाडौँ । चाडपर्व नजिकिएसँगै बजारमा पैसाको प्रवाह बढ्न थालेको छ । केन्द्रीय बैंकका अनुसार पछिल्लो एक दिनमा मात्रै करिब साढे ६ अर्ब रुपैयाँ नगद बजारमा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असोज २१ गते राष्ट्र बैंकबाहिर अर्थात् बैंक तथा वित्तीय संस्था र सर्वसाधारणको हातमा रहेको नगद ८ खर्ब ३० अर्ब ३८ करोड ५७ लाख रुपैयाँ थियो । असोज २२ गतेसम्म आइपुग्दा यस्तो रकम बढेर ८ खर्ब ३६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ पुगेको छ । यसअनुसार एकै दिनमा राष्ट्र बैंकबाहिर रहेको नगद ६ अर्ब ४८ करोड २४ लाख रुपैयाँले बढेको हो ।

चाडपर्वको समयमा नगदको माग बढ्नु नेपालको अर्थतन्त्रमा देखिने मौसमी प्रवृत्ति भएको केन्द्रीय बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलको भनाइ छ । दसैँमा उपभोग, व्यापार तथा विभिन्न आर्थिक गतिविधि बढ्ने भएकाले नगदको प्रयोग पनि बढ्ने उनी बताउँछन् । यद्यपि, बजारमा चलनचल्तीको मुद्रा बढेको तथ्यांकले मात्रै आर्थिक गतिविधि कति बढ्यो भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनको भनाइ छ ।

यस्तै राष्ट्र बैंककी सूचना अधिकारी सुधा श्रेष्ठका अनुसार बजारमा नगदको परिमाण बढ्नुको मुख्य कारण चाडपर्व र नयाँ नोटको सटही हो । दसैँमा नयाँ तथा सुकिला नोटको माग बढी हुने भएकाले राष्ट्र बैंकले नोट सटहीको व्यवस्था मिलाउने गरेको छ । यस क्रममा बैंक तथा वित्तीय संस्थामार्फत सर्वसाधारणको हातमा नगद पुग्ने भएकाले राष्ट्र बैंकबाहिर रहेको रकम बढ्ने उनी बताउँछिन् ।

“यो चाडपर्वकै कारण बढेको हो । अहिले नयाँ नोट पनि निष्कासन गरेका छौँ । नयाँ नोट सटहीका कारण पनि बजारमा नगद गएको हो,” श्रेष्ठले भनिन् ।

दसैँमा विशेषगरी दक्षिणा दिन, पूजाआजा गर्न र आफन्तलाई पैसा दिन साना दरका नोटको माग बढी हुने गर्छ । नयाँ नोटको माग बढ्नुका साथै सर्वसाधारणले बैंकबाट नगद झिक्ने क्रम बढ्दा बजारमा चलनचल्तीको मुद्रा बढ्ने गर्छ ।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार सर्वसाधारणका लागि ५ रुपैयाँदेखि १०० रुपैयाँसम्मका साना दरका नोट प्रतिव्यक्ति बढीमा दुई सेट उपलब्ध गराउने व्यवस्था रहेको छ ।

नयाँ नोट सटहीको व्यवस्थाले सर्वसाधारणलाई चाडपर्वका लागि आवश्यक नगद जुटाउन सहज बनाउँछ । तर, नयाँ नोट सटही हुनु र अर्थतन्त्रमा नयाँ पैसा थपिनु फरक विषय हुन् । सटहीका क्रममा पुराना नोटको सट्टा नयाँ नोट उपलब्ध गराइने भएकाले यसलाई समग्र मुद्रा आपूर्तिमा भएको वृद्धि भनेर मात्रै बुझ्न नमिल्ने जानकारहरूको भनाइ छ ।

बजारमा रहेको नगदको परिमाण चाडपर्वमा मात्रै परिवर्तन नहुने जानकारहरू बताउँछन् । सामान्य अवस्थामा समेत दैनिक रूपमा केही अर्ब रुपैयाँसम्म नगदको सर्कुलेसनमा घटबढ हुने गरेको सम्बन्धित अधिकारीहरूले बताएका छन् ।

अहिले चलनचल्तीमा रहेको कुल मुद्रामध्ये कागजी नोटको हिस्सा अत्यधिक देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार बजारमा रहेको कुल चलनचल्तीको मुद्रामध्ये ८ खर्ब १ अर्ब ६२ करोड ६८ लाख रुपैयाँ बराबर कागजी नोटका रूपमा रहेको छ । यो कुल चलनचल्तीको मुद्राको ९९.७१ प्रतिशत हो ।

त्यस्तै, बजारमा रहेको सिक्काको परिमाण २ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ बराबर छ । यो कुल चलनचल्तीको मुद्राको ०.२९ प्रतिशत मात्रै हो । यसले नेपाली मुद्रा प्रणालीमा कागजी नोटको प्रयोग र हिस्सा अत्यधिक रहेको देखाउँछ ।

त्यस्तै, गत आर्थिक वर्षको असार मसान्तमा राष्ट्र बैंकबाहिर रहेको कुल नगद ८ खर्ब ३ अर्ब ९६ करोड १५ लाख रुपैयाँ थियो । त्यसयता असोज २२ गतेसम्म यस्तो रकम ३२ अर्ब ९० करोड ६६ लाख रुपैयाँले बढेको छ ।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार  ०७ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।