काठमाडौँ । नेपाल राष्ट्र बैंकको नाफा ३.८४ प्रतिशतले बढेको छ । जुन गत वर्षको तुलनामा ३ अर्ब रुपैयाँभन्दा धेरै हो ।
गत आर्थिक वर्ष २०८२/८३ मा राष्ट्र बैंकले ८३ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा केन्द्रीय बैंकले ८० अर्ब ४८ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
गत आव केन्द्रीय बैंकले विदेशी मुद्राको खुद ब्याज आम्दानी १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ गरेको छ । यो अघिल्लो आव सोही अवधिको तुलनामा २३ प्रतिशत बढेको छ । अघिल्लो आव विदेशी मुद्राको खुद ब्याज आम्दानी ९४ अर्ब ८१ करोड रुपैयाँ थियो ।
२०८२ साउन १ गतेदेखि २०८३ असार ३२ गते सम्मको आयविवरण अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपाल राष्ट्र बैंकको जम्मा खुद संचालन आम्दानी अघिल्लो वर्षको तुलनामा ६.४८ प्रतिशतले वृद्धि भई ९३ अर्ब ९२ करोड २० लाख २६ हजार रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०८२÷८३ को खुद संचालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश १००.६९ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी २.२८ प्रतिशत ऋणात्मक र अन्य संचालन आम्दानीको अंश १.५९ प्रतिशत रहेको छ ।
खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ८.६३ प्रतिशतले वृद्धि भई ९४ अर्ब ५६ करोड ४९ लाख ७४ हजार रुपैयाँ कायम भएको छ भने विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी २ अर्ब १३ करोड ८८ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको छ । त्यसैगरी, अन्य आम्दानी १ अर्ब ४९ करोड ५८ लाख ९३ हजार रुपैयाँ भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ/हानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ३.८४ प्रतिशतले वृद्धि भई ८३ अर्ब ५६ करोड ९४ लाख ७६ हजार रुपैयाँ कायम भएको छ । यस्तो खुद आय आर्थिक वर्ष २०८१÷८२ मा ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
यता, सोमबार बसेको केन्द्रीय बैंक सञ्चालक समितिले निर्णय गरी गत आवको नाफाबाट सरकारलाई ४२ अर्ब हस्तान्तरण गर्ने निर्णय गरेको हो । अघिल्लो आव पनि केन्द्रीय बैंकले सरकारलाई ४२ अर्ब नै नाफा हस्तान्तरण गरेको थियो ।
२०८३ असार मसान्तको वित्तीय अवस्था विवरण अनुसार केन्द्रीय बैंकको सम्पत्ति तथा दायित्व २०८२ असार मसान्त तुलनामा ४५.०६ प्रतिशतले बढेको छ ।
गत असारमा बैंक सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ८२ करोड १० लाख ३७ हजार पुगेको छ । २०८२/८३ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन लाभ/हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ३.८४ प्रतिशतले वृद्धि भई ८३ अर्ब ५६ करोड ९४ लाख ७६ हजार पुगेको केन्द्रीय बैंकले जनाएको छ ।







