काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई सफा बनाई काठमाडौँलाई सुरक्षित तथा बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘काठमाडौँ जलवायु कार्य सप्ताह’ लाई आज सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं ८ का सांसदसमेत रहेका मन्त्री श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण र सहरी पर्यावरण सुधारका लागि सङ्घीय सरकारका तर्फबाट ठोस कार्ययोजना सार्वजनिक गरिएको जानकारी दिए ।
जथाभावी कङ्क्रिटका संरचना बन्दा खेत, पोखरी र खुला जमिन मासिएको, सहरको तापक्रम बढेको तथा वर्षाको पानी सोस्ने जमिन नहुँदा बाढीको जोखिम बढेको उनले उल्लेख गरे । धुलो–धुवाँले शताब्दीयौँ पुराना मन्दिर तथा सम्पदाको अवस्था बिग्रँदै गएको उनण्को भनाइ थियो ।
जलवायु परिवर्तनले सङ्कट अझ थपेको बताउँदै श्रेष्ठले केही दिनको अवधिमा विभिन्न नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितको बाढी आउनु, हिमपहिरो जानु र हिमनदी पग्लिनु गम्भीर चेतावनी भएको बताए ।
पछिल्ला चार वर्षमा लोप हुन लागेका पुराना ढुङ्गेधारा (हिटी) र राजकुलो ब्युँताएर भूमिगत जलभण्डार जोगाउन भूमिका खेलेकामा काठमाडौँ महानगरपालिका, कार्यवाहक प्रमुख र वडा अध्यक्षको उनले प्रशंसा गरे ।
उनका अनुसार बाढीको पूर्वसूचना र हिमनदी अनुगमन प्रणाली जडान गरिने, बाढी आउनुअघि नै वडा र घरपरिवारले जानकारी पाउन सकून् भनेर जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढी मोडलिङ र पूर्वसूचना प्रणालीमा महानगर तथा अन्य सहरसँग सहकार्य गर्ने योजना अगाडि सारिएको जानकारी दिए।







