जलविद्युतको क्षेत्रमा थप लगानी गर्न चीन सरकारलाई ऊर्जामन्त्रीको आग्रह

0
Shares

 सरकारले नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा थप लगानी गर्न चीन सरकारलाई आग्रह गरेको छ ।

मंगलबार आफूसँग शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त आग्रह गरेका हुन ।

मन्त्री पुनले सरकारले ऊर्जा क्षेत्रको विकास र बजार विस्तारका लागि पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा थप लगानीको पहल गरिदिन आग्रह गरेका हुन । उनले सरकारले जलविद्युतको लागि भारत र बंगलादेशमा बजारको पहल भइरहेको समेत बताएका छन ।

उनले भने, ‘नेपालको जलविद्युत क्षेत्रमा नयाँ सम्भावना छ, लगानी र बजार विस्तारका लागि हामी पहल गरिरहेका छौँ, भारत र बंगलादेशसँग समेत यसबारेमा छलफल भइरहेको छ । त्यसमा चिनियाँ लगानीकर्ताको सकारात्मक सहयोग आवश्यक छ ।’ चिनियाँ लगानीकर्ता र निर्माण कम्पनीले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडिको कारणबारे समेत जिज्ञासा राखेका छन ।

दूधकोशी जलविद्युतमा विश्व बैंकको लगानी

जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनिले भोगेका समस्याका बारेमा जानकारी गराउँदै त्यसबारेमा आफूले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताए । मन्त्री पुनले भने, ‘चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन् । हाम्रोमा किन गर्न सकिरहेका छैनन् । समस्या के हो जसका कारण काममा ढिलाइ भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौँ, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौँ ।’ दूधकोशी जलविद्युत आयोजनामा विश्व बैंकले ५०० मिलियन अमेरिकी लगानी गर्ने तयारी गरिरहेको भन्दै उक्त आयोजना सम्पन्न गर्नका लागि केही रकम अपुग भएकोले चिनियाँ सहयोगको अपेक्षा गरेका हुन ।

भेटमा राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्न पहल गरिरहेको जानकारी दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवालयले जनाएको छ । नेपालको जलविद्युत क्षेत्रमा १४ चिनियाँ कम्पनीले २४ वटा आयोजना संचालन गरिरहेको समेत जानकारी दिएका छन । चिनियाँ कम्पनीले निर्माण गरिरहेका परियोजनामा प्रवेशाज्ञा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहणलगायतका समस्या भोगिरहेको राजदूतको भनाइ थियो । भेटमा राजदूत यान्छीले नेपालमा स्थिर सरकार रहेको र अरू ४ वर्ष सरकारसँग समय रहेको भन्दै यो अवधिमा नेपालले बढीभन्दा बढी उपलब्धि हासिल गर्छ भन्नेमा आफू आशावादी रहेको बताए।