दशैँ–तिहार नजिकिँदै गर्दा हराउँदै रातो माटो र कमेरो, एक वर्षमै ३३ प्रतिशतले बढ्यो पेन्टको आयात


काठमाडौँ । दशैँ–तिहार नजिकिँदै गर्दा नेपालमा पेन्टको आयात उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको साउन–भदौको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पेन्ट तथा बार्निसको आयात ३३ प्रतिशतभन्दा बढीले बढेको हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को साउन–भदौमा ६८ करोड ४० लाख रुपैयाँको पेन्ट तथा बार्निस आयात भएको थियो । चालु आर्थिक वर्ष २०८३/८४ को सोही अवधिमा यस्तो आयात बढेर ९१ करोड २७ लाख पुगेको छ ।

यो तथ्यांक अनुसार एक वर्षमा पेन्ट तथा बार्निसको आयात २२ करोड ८७ लाख रुपैयाँले बढेको देखिन्छ । पुटीन र वाल फिलरसहित हेर्दा चालु आर्थिक वर्षको साउन–भदौमा पेन्ट तथा यससँग सम्बन्धित सामग्रीको कुल आयात १ अर्ब १६ करोड ३८ लाख पुगेको छ ।

दशैँ–तिहारअघि घर रंगाउने चलनका कारण यस समयमा पेन्टको माग बढ्ने गर्छ । पछिल्ला वर्षमा काँचो माटो र कमेरोले घर पोत्ने परम्परा घट्दै जानु, पक्की घरको संख्या बढ्नु र बजारमा तयारी पेन्ट सहज रूपमा उपलब्ध हुनु पनि पेन्टको प्रयोग बढ्नुका कारण हुन् ।

केही दशकअघिसम्म दशैँ–तिहारअघि गाउँघरमा रातो माटो, कमेरो र चुनले घर पोत्ने चलन थियो । डाँडाकाँडा वा खानीबाट माटो ल्याएर पानीमा भिजाउने, छान्ने र बाँस वा घाँसको कुचोले घरका भित्ता पोत्ने गरिन्थ्यो । अहिले भने त्यसको ठाउँ विभिन्न रंगका तयारी पेन्टले लिन थालेका छन् ।

गाउँघरमा पनि रातो माटो र कमेरोको चलन हराउँदै जाँदा पेन्टको आयात बढ्दै गएको देखिन्छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को साउन–भदौमा ६८ करोड ४० लाख रुपैयाँको पेन्ट तथा बार्निस आयात भएको थियो । पुटीन र वाल फिलरसहित कुल आयात ८९ करोड ८४ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा पेन्ट तथा बार्निसको आयात ९१ करोड २७ लाख रुपैयाँ पुगेको छ । पुटीन र वाल फिलरसहित कुल आयात भने १ अर्ब १६ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

अर्थात् एक वर्षमा पेन्ट तथा बार्निसको आयात मात्रै २२ करोड ८७ लाख रुपैयाँले बढेको छ । पुटीन र वाल फिलरसहितको कुल आयात पनि गत वर्षको तुलनामा २६ करोड ५४ लाख रुपैयाँले बढेको छ ।

पछिल्ला वर्षको तथ्याङ्क हेर्दा पनि दशैँ–तिहारअघि पेन्टको आयात उच्च रहने गरेको देखिन्छ । आर्थिक वर्ष २०७९÷८० को साउन–भदोमा ६४ करोड ६६ लाख रुपैयाँको पेन्ट तथा बार्निस आयात भएको थियो । पुटीनसहित यो रकम ८१ करोड ५७ लाख रपैयाँ पुगेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिमा ५७ करोड ६८ लाख रुपैयाँको पेन्ट तथा बार्निस आयात भएको थियो । पुटीनसहित कुल आयात ७२ करोड २४ लाख रुपैयाँ पुगेको थियो ।

आर्थिक वर्ष २०८१/८२ को तुलना अवधिमा पेन्ट तथा बार्निसको आयात ५७ करोड २६ लाख रुपैयाँ रहेको थियो । पुटीन र वाल फिलरसहित कुल आयात ७३ करोड ७१ लाख रुपैयाँ पुगेको थियो ।

माटो पोत्नुभन्दा पेन्ट लगाउन सजिलो

पहिले घर पोत्न रातो माटो वा कमेरो खोजेर ल्याउनुपथ्र्यो । त्यसलाई पानीमा भिजाउने, छान्ने र तयार पार्ने काममा पनि समय लाग्थ्यो । अहिले भने बजारमा विभिन्न रंग र गुणस्तरका तयारी पेन्ट पाइन्छन् ।

पेन्ट किनेपछि मिस्त्रीको सहयोगमा छोटो समयमै घर रंगाउन सकिने भएकाले यसको प्रयोग बढेको व्यवसायीहरू बताउँछन् । घर निर्माणको शैलीमा आएको परिवर्तनले पनि पेन्टको माग बढाएको छ । काँचो माटोका घरको संख्या घट्दै जाँदा पक्की तथा सिमेन्टका घर बढेका छन् । यसले पनि माटो र कमेरोको प्रयोग घटाएको छ ।

पेन्टका विभिन्न प्रकारमध्ये घरका भित्तामा प्रयोग हुने एक्रिलिक इमल्सनको माग बढी रहेको तथ्याङ्कले देखाउँछ । आधुनिक घर तथा भवन निर्माण बढेसँगै भित्तामा लगाउने पेन्टको बजार पनि विस्तार हुँदै गएको छ ।

दशैँ–तिहारअघि घर सफा गर्ने, रंगरोगन गर्ने र नयाँ रूप दिने चलनका कारण यो समयमा पेन्टको माग अझ बढ्ने गर्छ । त्यसैले व्यवसायीहरूले चाडपर्व सुरु हुनुअघि नै पर्याप्त मात्रामा पेन्ट तथा सम्बन्धित सामग्रीको व्यवस्था गर्ने गरेका छन् ।

स्वदेशी उद्योग भए पनि आयातमा निर्भरता

नेपालमा साना तथा ठूला पेन्ट उद्योग सञ्चालनमा छन् । स्वदेशमै विभिन्न ब्रान्डका पेन्ट उत्पादन हुँदै आए पनि उद्योगका लागि आवश्यक कच्चा पदार्थ तथा केही विशेष प्रकारका पेन्टमा विदेशी आयातमा निर्भर रहनुपर्ने अवस्था छ ।

चाडपर्वका बेला बजारमा माग बढ्ने भएकाले पेन्ट तथा सम्बन्धित सामग्रीको आयात पनि बढ्ने गरेको व्यवसायीहरूको भनाइ छ । यसले हरेक वर्ष ठूलो रकम विदेशिने गरेको छ ।

पेन्टको प्रयोग बढ्दै जाँदा घर रंगाउने काम सहज भएको छ । तर, यसको अर्को पाटो भनेको दशैँ–तिहारसँग जोडिएको रातो माटो, कमेरो र चुनले घर पोत्ने पुरानो परम्परा विस्तारै ओझेल पर्दै जानु हो । यसले एकातिर मुलुकको विदेशी मुद्रा बाहिरी छ भने अर्काेतिर हाम्रो मौलिक संस्कार र परम्परा लोप हुँदै गएको छ ।

प्रकाशित मिति: १ कार्तिक २०८३, आइतबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।