सूर्या लाइफले बोनस र हकप्रदबाट चुक्ता पूँजी दुई अर्ब पुर्याउने, आज साधारणसभा

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको असार ११ गते बुधबार हुने वार्षिक साधारण सभाले १२ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्दैछ । कम्पनीको एघारौं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा बस्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख रुपैयाँको १२ प्रतिशत बोनस वितरण गर्ने भएको हो । यस्तै, बोनसमा लाग्ने कर तिर्न ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश पनि दिनेछ ।

उक्त लाभांश साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ। बोनस पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ पुग्नेछ।

सूर्या लाइफले साधारण सभा प्रयोजनका लागि जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज गरेको छ। तसर्थ, जेठ २७ गतेसम्म कायम रहेका शेयरधनीले मात्र प्रस्तवित लांभाश पाउनेछन् ।

यता, कम्पनीले हाल कायम पूँजीको ७० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । प्रस्तावित १२ प्रतिशत बोनस र ७० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँ पुग्नेछ ।