नेपाल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा दिने, अन्य बैंकको कर्जा समेत स्वाप गर्ने सुविधा

0
Shares

नेपाल बैंकले पाँच वर्ष अबधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ । बैंकले बजारको माग र चाहनाबमोजिम नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदर हुने गरी घरकर्जा प्रदान गर्न लागेको दाबी गरेको छ ।

बैंकले घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको जनाएको छ । यसको अतिरिक्त बैंकले नयाँ लघुउद्यम कर्जा, सम्बद्ध  व्यवसाय कर्जा र घडेरी कर्जा योजनाहरु पनि शुभारम्भ गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

लघुउद्यम कर्जा तथा सम्बद्ध व्यवसाय कर्जा को वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बैंकिङ्ग क्षेत्रकै न्युन ब्याजदर भएको बैंकको भनाई छ ।

यस प्रकारका कर्जाहरु प्राप्त गर्नका लागि  सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार/व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त २५ लाखदेखि ९९ लाखसम्मको लागी लघुउद्यम कर्जा र १ करोडदेखि ३ करोडसम्मको चालु तथा स्थिर पूँजी ब्यबस्थापनका लागी सम्बृद्घ ब्यबशाय कर्जा उपलब्ध गराउन सकिने बैंकको भनाई छ ।

दुबै प्रकारका कर्जाहरु अन्र्तगत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पूँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पूँजिकर्जा प्रदान गर्न सकिनेछ । लघुउद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे ७ कार्य दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।

घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जस्को वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसिय आवश्यकता पूरा गर्न यो कर्जाको सुरुवात गरिएको बैंकले बताएको छ ।

यस कर्जाअन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तीमा साढे दुई आना वा साढे चार धुर देखी बढीमा एक रोपनी वा डेढ कट्ठा सम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अबधि ५ बर्षदेखि २० वर्षसम्म कायम गरिएको छ ।

बैंकले १८६ वटा शाखाहरु, १२५ बटा एटिएम तथा २९ बटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ । चालु आ.व. भित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पुर्याई कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्य बैंकको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।