नेप्से ४४ अंकले बढ्दा कारोबार रकम तीन महिनायताकै न्यून


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४.४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ ।

नेप्से परिसूचक आज १.८० प्रतिशतले बढेर २ हजार ५०८.८६ को अङ्कमा कायम भएको हो । आज ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ५० हजार ६८० पटक खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ मा खुम्चिएको छ । नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो ।

म्युचुअल फन्ड शून्य दशमलव ६० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्र् समूह ४.१९ र उत्पादन तथा प्रशोधन समूह ३.८३ प्रतिशतले बढेको छ । बैंकिङ १.१८, विकास बैंक १.९३, होटल तथा पर्यटन ३.२८, जलविद्युत १.२२, जीवन बीमा १.७८ र लघुवित्त १.८५ प्रतिशतले बढेको छ ।

त्यस्तै, निर्जीवन बीमा ०.७१, व्यापार १.५२ र अन्य समूह २.३७ प्रतिशतले बढेको छ ।

सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकरात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा प्रभु सेलेक्ट फन्डको शेयर मूल्य ९.३६ प्रतिशत छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १७ करोड ६९ लाख ६४ हजार २७ बराबरको कारोबार भएको छ ।

कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने सिटिजन सुपर–३० म्युचुअल फन्डको १२ लाख १ हजार ४२० कित्ता शेयर किनबेच भएको छ ।