संवेदनशील बेलामा विरोध होइन, सबै मिलेर अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले ​विपद्‌का बेला सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । ​

राष्ट्रसंघीय महासभाबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।​

‘विरोधका लागि विरोध होला । सरकारले गर्नेसम्मको प्रयास तत्काल मिटिङहरू बसेर सेना, प्रहरी खटेर उद्धार कार्यहरू गरेको छ,’ उनले भने, ‘अब बाढी आउने कुरालाई त रोक्न सकिँदैनथ्यो । उद्धार गर्ने कुरा हो, राहत पुर्‍याउने कुरा हो । पहिरो जाने कुरा पनि पूर्वसूचना गरेर जाँदैन । पहिरो गएपछि क्षति पुर्‍याउने नै भयो । त्यसमा सरकारले तदारुकताका साथ उद्धार कार्य र राहत कार्य पुर्‍याउने हो ।’

आफू देश बाहिर रहँदा पनि बाढी पहिरोलगायतका विपद्‌बारे जानकारी लिइरहेको उनले बताए ।

‘मैले बाहिरै हुँदाखेरी पनि यस विषयमा जानकारी लिइराखेको थिएँ । आफ्नो मातहतका साथीभाइहरूलाई पनि, निकायहरूलाई पनि निर्देश गरिराखेको छु । मैले पाएको जानकारीअनुसार सरकारले आफ्नो बुता अनुसार गरेको छ,’ उनले भने, ‘अब विरोधका लागि विरोध गर्ने परिपाटी होइन, यस्तो संवेदनशील बेलामा हामीले सबै मिलेर यथार्थपरक ढंगले चल्नु वाञ्छनीय हुन्छ, नकि विरोध गर्नका लागि विरोध गर्ने खालको जस्तो स्थिति त्यो राम्रो हुँदैन भन्ने लाग्छ मलाई ।’