नेपालमा वित्तीय पहुँच बढाउन तथा वित्त समावेशीकरणलाई तीव्र रुपमा विस्तार गर्ने उद्देश्यले, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र एशियाली विकास बैंकले छिमेक लघुवित्त वित्तसँग ऐतिहासिक अनफन्डेड जोखिम साझेदारी गरेका छन् ।
यस अनफन्डेड जोखिम साझेदारी सम्झौताले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच अभिवृद्धि गर्दै, महिला र सीमान्तकृत समुदायलाई आर्थिक रुपमा सशक्त बनाउने विश्वास गरिएको छ।
एडिबिको निजी क्षेत्रको अपरेशन अन्तर्गत सुरु गरिएको यस साझेदारीले ग्रामीण क्षेत्रमा महिलाहरुलाई ऋण सुविधा प्रदान गरी समाजमा रहेको वित्तीय असमानता हटाउनुका साथै उनीहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ ।
एडिबिको माइक्रोफाइनान्स कार्यक्रमले गरिबीलाई जरोदेखि सम्बोधन गर्दै महिलाहरूका लागि अवसरहरूको ढोका खोल्ने एडिबिका देश निर्देशक अर्नो कोचोइसले बताए । यस्तै यो कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वरोजगार अभिवृद्धि गर्न र उपभोक्ता सुरक्षालाई विशेष ध्यानमा राखेर वित्तीय सुविधा उपलब्ध गराउने छिमेक लघुवित्तका सीईओ दीपक निधि तिवारीले बताए । “हाम्रो अन्तर्राष्ट्रिय नेटवर्कको सदुपयोग गर्दै नविन वित्तीय समाधानहरू प्रस्तुत गर्न हामी प्रतिबद्ध छौं, र यो साझेदारीले हाम्रो समुदायलाई थप सशक्त बनाउनेछ।” , स्ट्यान्डर्ड चार्टड नेपालका सीईओ अनिर्वाण घोष दस्तिदारले भने ।
यो कार्यक्रमले नेपालको ग्रामीण क्षेत्रका ५,००० भन्दा बढी महिला उद्यमीहरूलाई प्रत्यक्ष लाभ पुर्याउने अनुमान गरिएको छ। यसले महिला सशक्तिकरणको यात्रालाई थप मजबुत बनाउँदै ग्रामीण क्षेत्रको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया