चाडबाडमा कुन बाइक/स्कुटर किन्ने ?

‘टु ह्विलर्स’को अफरै अफर, केन्यामा जंगल सफारीदेखि १०० वटा हात्ती उपहार !


काठमाडौँँ । यो वर्षको चाडबाडमा नयाँ मोटरसाइकल तथा स्कुटर किन्ने योजनामा हुनुहुन्छ ? विभिन्न टु ह्विलर्स कम्पनीले याे वर्षका लागि आकर्षक उपहार योजनासहित चाडबाड अफर ल्याएका छन् ।

अर्थतन्त्रमा देखिएको सुस्तता तथा केन्द्रीय बैंकले अटो क्षेत्रको कर्जामा गरेको कडाइले व्यवसायीहरूको मनोवल अझै पनि फर्केको छैन । तर, यो वर्षको दसैँ तथा तिहार नजिकिएसँगै व्यापार बढाउन अटो व्यापारीले विभिन्न अफर ल्याएका छन् ।

विभिन्न २ पांग्रे कम्पनीका नेपालका लागि आधिकारिक बिक्रेताहरूले यो दसैँका लागि नगद छुटदेखि लक्की ड्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुर प्याकेज, १० लाख रुपैयाँसम्मको नगद नै उपहारलगायत योजनाहरू ल्याएका छन् ।

अधिकांश कम्पनीले सामान्य नगद छुट तथा उपहार र स्क्र्याच कुपनलगायत सर्भिसिङ फ्री जस्ता योजना चलाएका छन् । तर, बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले १०० वटासम्म हात्ती जित्न सक्ने योजना सञ्चालन गरेको छ ।

यो योजनाअन्तर्गतको एक हात्ती बराबर १ हजार रुपैयाँ हुनेछ । त्यसैगरी हरेक साता १ जोडीलाई चितवनमा जंगल सफारी उपलब्ध गराइनेछ भने बम्पर उपहारमा १ जोडीलाई केन्यामा जंगल सफारी अफर गरेको छ ।

पछिल्लो समय २ पाग्रे सवारीसाधन रहरभन्दा बढी बाध्यता बनिसकेको छ । सहरी क्षेत्रको ट्राफिकका कारण समयमा गतव्य भेट्न पनि हरेक परिवारका लागि २ पांग्रे अनिवार्यजस्तै भएको छ ।

४ पांग्रे सवारीसाधन भएका घरपरिवारले पनि छोटो दुरीको छिटो यात्राका लागि २ पांग्रे साधन अनिवार्य राख्ने गरेको पाइन्छ । सुरक्षाका दृष्टिले ४ पांग्रेभन्दा २ पांग्रे सवारी बढी जोखिमपूर्ण मानिन्छ । तर, पनि सहरी क्षेत्रको उच्च ट्राफिकका कारण यो चालकको रोजाइमा पर्ने गरेको छ ।

कुन कम्पनीको कस्तो अफर ?

हिरो

हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता सिजी मोटर्स हो । सिजीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा ‘एक्कासि मालामाल’अफर सार्वजनिक गरेको छ ।

Main-Creative-Hero--1024x679.jpg (1024×679)

कम्पनीले जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कार्डमार्फत् नगद ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट क्यास जित्ने मौका रहेको जनाएको छ । साथै बम्पर उपहारमा ‘नेटा–भी’कार जित्ने अफर ल्याएको छ ।

टिभिएस

नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्स हो । यस कम्पनीले दसैँ तिहारका लागि ‘नयाँ युगको आरम्भ’ योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म उपहार जित्ने मौका प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत नकिन्दै ५ लाखसम्म जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको कम्पनीले जनाएको छ । हरेक हप्तामा शतप्रतिशत क्यास ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ ।

होन्डा

होन्डा टु ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्र्याच कुपन प्राप्त गरी १० लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् । यो योजना होन्डा इजी फाइनान्समा पनि लागू हुने कम्पनीले जनाएको छ ।

बजाज

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी हो । कम्पनीले ‘क्यास सफारी’ अफर ल्याएको छ ।

चाडबाडलाई लक्षित गरी ल्याइएको अफरअन्तर्गत बजाजका मोटरसाइकल किन्ने ग्राहकले स्योर सट १०० वटासम्म हात्ती जित्नसक्ने छन् । १ हात्ती बराबर १ हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी, हरेक साता १ जोडीलाई चितवनमा जंगल सफारी उपलब्ध गराइनेछ भने बम्पर उपहारमा १ जोडीलाई केन्यामा जंगल सफारी उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो अफरअन्तर्गत बजाजका मोटरसाइकल खरिद गर्ने उपभोक्ताले सहज फाइनान्स सुविधा पाउनेछन् भने ५ वर्षसम्मको वारेन्टी सुविधा पाउनेछन् ।

सुजुकी

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता भिजी अटोमोबाइल्सले दसैँतिहार विशेष ‘दसैँ आयो, क्यास पायो’ योजना ल्याएको छ ।

कम्पनीले आफ्नो मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकलाई न्यूनतम ७ हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म उपहार प्रदान गर्ने जनाएको छ ।

मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले न्यूनतम ७ हजार रुपैयाँ स्योर सट क्यासब्याक पाउनेछन् भने स्क्र्याच कुपनमार्फत् ५ लाख रुपैयाँसम्म छुट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

त्यसका साथै मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज र फाइनान्सको राम्रो सुविधा दिइने जनाएको कम्पनीले मोटरसाइकल तथा स्कुटरको विश्वसनीयता कायम गर्न ५ वर्षको वारेन्टीका साथै ५ वर्षसम्म फ्री सर्भिसिङ सुविधासमेत उपलब्ध गराएको छ ।

यामाहा

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स हो । यस कम्पनीले दसैँ, तिहार विशेष ‘बिगेस्ट १०सैँ’ योजना सार्वजनिक गरेको छ ।

यामाहाको बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकले स्योर सट नगद उपहारहरू जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।

स्योर सटअन्तर्गत २० हजार, ५० हजार र १ लाख रुपैयाँ नगद उपहार धेरै ग्राहकले जितिसकेको कम्पनीले जनाएको छ ।

यो अफर अवधिभर यामाहाको मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्मको हात खाली नजाने स्योर सट नगद छुट उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यामाहा बाइक र स्कुटरहरूको खरिदसँगै १० लाख जित्ने अवसर र दुइटा मोडलमा एफआई १० बर्से वारेन्टीले यो वर्षको दसैँ बिगेस्ट दसैँ हुने अपेक्षा कम्पनीले गरेको छ ।

बेनेली

बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता केटिएम इन्टरनेसनल ट्रेडिङले दसैँ तथा तिहार योजना सार्वजनिक गरेको छ ।

कम्पनीले छुट योजनाअन्तर्गत ‘चढौँ बेनेली, बाँडौँ खुसी’ योजना सार्वजनिक गरेको हो । यस योजनामा ग्राहकहरूले बेनेली बाइकको खरिदमा १ लाख रुपैयाँसम्मको छुट पाउन सक्नेछन् ।

यस अफरअन्तर्गत ग्राहकले मन परेको बाइक तथा स्कुटर खरिद गरी यसपालिको दसैँमा आफ्नो परिवारसँग खुसी बाँड्न सक्नेछन् ।

यस अफरमा बेनेली पानारी १२५ बाइक २ लाख ५० हजार रुपैयाँमा उपलब्ध हुनेछ । बेनेली १८० एस ३ लाख ३० हजारमा किन्न सकिनेछ । पुरानो बाइक साटफेर गर्दा अतिरिक्त ३० हजार रुपैयाँको मूल्यांकन गरिनेछ भने सम्पूर्ण बिमा तथा १ आर्थिक वर्षको कर पनि कम्पनीले बेहोर्नेछ ।

भेस्पा र अप्रिलिया

भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्पले यो चाडपर्वको अवसरमा ग्राहकका लागि ‘खुसी ३ गुणा’ अफर ल्याएको छ ।

जसअन्तर्गत हरेक भेस्पा वा अप्रिलियाको खरिदमा ग्राहकले १० हजारदेखि ७५ हजार रुपैयाँसम्म नगद छुटका साथै ६ हजार रुपैयाँ बराबरको स्मार्टवाच तुरुन्तै पाउन सक्नेछन् ।

यस्तै, हरेक हप्ता लक्की ड्रमार्फत् अनर २०० फाइभजी एवं बम्पर उपहारमा १ जोडीले ४ रात र ५ दिनको भ्रमणको अवसर पाउनेछ । विशेष गरी युवामाझ लोकप्रिय बनेको भेस्पा र अप्रिलियामा एक्सचेन्ज सुविधाका साथै सरल फाइनान्स र फ्री एसेसरिज पनि उपलब्ध छ ।