विकासशील राष्ट्रबाट स्तरोन्नति हुने मापदण्ड पूरा हुन लागेको छः अर्थमन्त्री


अर्थमन्त्री डा युवराज खतिवडाले विकासशील राष्ट्रको स्तरबाट स्तरोन्नति हुने मापदण्ड नेपालले करीब–करीब पूरा गरिसकेको बताएका छन । बिहीबार मन्त्री खतिवडाले विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डिएञ्जेलोसंगको शिष्टाचार भेटवार्तामा नेपाल सन् २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रको स्तरमा स्तरोन्नति हुने बताएका हुन ।

सो भेटमा अर्थमन्त्री खतिवडाले सन् २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रको स्तरमा स्तरोन्नति हुने र सन् २०३० सम्ममा कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन लक्ष्य हासिल गर्न वर्तमान सरकार कटिबद्ध रहेको बताए । यसका लागि विश्व बैंकको सहयोगको निरन्तरता रहने विश्वास समेत उनले व्यक्त गरेका थिए ।

भेटघाटका क्रममा विश्व बैंककोतर्फबाट अर्थमन्त्रीको नेतृत्वमा विभिन्न आर्थिक सुधारका कार्यक्रमलाई तीव्र अगाडि बढेकामा प्रशंसा गरिएको थियोे । मुलुकको दीर्घकालीन सोचका बारेमा उपाध्यक्ष तथा महालेखा परीक्षकले राखेको जिज्ञासामा अर्थमन्त्री खतिवडाले विश्व बैंकले आगामी दिनमा पु¥याउन सक्ने थप सहयोगको अपेक्षासहित नेपालले अवलम्बन गरेका दीर्घकालीन सोंचका बारेमा जानकारी गराएका थिए । उनले विकासशील राष्ट्रको स्तरबाट स्तरोन्नति हुने मापदण्ड नेपालले करीब–करीब पूरा गरिसकेको समेत जानकारी दिए ।

नेपाल सरकारले प्रक्षेपण गरेबमोजिम आगामी केही वर्ष दिगोरुपमा उच्च आर्थिक वृद्धि हासिल गरी सोको लाभ सन्तुलितरुपमा सबै तह र तप्कामा न्यायोचित वितरण गर्न सकिनेमा विश्वस्त हुन आग्रह गरेक थिए । उहाँले सङ्घीय संरचनाअनुरुप स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले इमान्दारीपूर्वक आर्थिक र सामाजिक विकासमा ध्यान केन्द्रित गर्नसकेमा नेपाल कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने खाका प्रस्तुत गरेका थिए ।

उक्त अभियानमा ठूलो आर्थिक तथा प्राविधिक साधन र स्रोतको आवश्यकता पर्ने भन्दै अर्थमन्त्री खतिवडाले यस अवधिभर स्तरोन्नति भएपछि पनि केही वर्षका लागि सहुलियत दरमा विश्व बैंकलगायतका अन्य विकास साझेदार मुलुक तथा संस्थाबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे । सो अवसरमा अर्थ मन्त्रालय आर्थिक सल्लाहकार डा रामशरण खरेल र अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल लगायतको उपस्थिति थियो ।