काठमाडौँ । पहिरोका कारण नेपाल–चीन प्रमुख व्यापारीक नाका तातोपानी भन्सार १८ दिनदेखि ठप्प भएको छ ।
असार अन्तिम साता परेको भारी वर्षाका कारण दुवैतर्फ पहिरोले सडक भासिँएर बाटो अवरुद्ध हुँदा चीनबाट करोडौं रुपैयाँका सामान बोकेका कन्टेनरहरु नाकासम्म आउन सकेका छैनन् । यसरी कन्टेनरहरु आउन नसक्दा करोडौँका मालवस्तु अलपत्र परेका छन् ।
तातोपानी नाकामा यो समस्या यो वर्ष मात्र नभई बर्सेनि दोहोरिने गरेको छ । नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका साउन १ गतेदेखि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । सीमा नाकाको लिपिङमा पहिरो खस्नुका साथै इको र डाक्लाङ क्षेत्रमा सडक भासिएपछि अवरुद्ध बनेको कोदारी सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । सामान ल्याउने कन्टेर त परको कुरा मानिस आवतजावत गर्न समेत नसकिने भएको छ ।
नाका जोड्ने बाह्रबिसे–तातोपानी खण्डको २६ किमि क्षेत्रको ठाउँ–ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएर व्यापार ठप्प भए पनि खुलाउन प्रभावकारी प्रयास गरिएको छैन । चिनसँग जोडिएको उत्तरी नाकाको छोटो र सहज मानिएको तातोपानी भन्सारबाट विशेषगरी तयारी पोशाक, जलविद्युत् आयोजनाका हेभी इक्विपमेन्ट, कृषि औजार, ब्याग, जुत्ता, चप्पल, स्टेशनरी, फर्निचर, खेलौना, फलफूल, कष्मेटिक, बीउबीजन, इलेक्ट्रिक गाडी, कम्प्युटर पार्टस्, उद्योगको कच्चा पदार्थलगायतका वस्तु आयात हुने गरेको छ । यसरी नाका ठप्प हुँदा सडकमा करोडौं मूल्यका मालवस्तु अलपत्र भएको व्यापारीहरुले बताएका छन् ।
उक्त भन्सारबाट गत वर्ष १४ अर्ब ५२ करोड राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षका लागि २५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको तातोपानी भन्सार प्रमुख दीपेन्द्र प्रकाश गिरीले बताए ।
‘चाडबाडको मुखमा आयात व्यापारको आकार ठूलो हुने भए पनि सडक अवरुद्ध हुँदा बर्सेनि यस्तो समस्या आउने गरेको छ ।’ उनले भने, ‘सडक अवरुद्ध भएकाले भन्सारमा आएका विद्युतीय गाडी (इभी) पनि रोकिएका छन्, व्यापार मात्र नभई मानिस आवतजावत गर्न पनि कठिन भएको छ ।’
उनका अनुसार, २०७२ को भूकम्पछि लगातार चार वर्ष बन्द भएर खुलेको तातोपानी नाकाबाट सहज रुपमा व्यापार हुन सकेको छैन । विगत तीन वर्षदेखि वर्षायाममा इको पहिरोका कारण तातोपानी नाका सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन हुने यस नाका सडकको स्तरोन्नति हुन नसक्दा व्यापार प्रभावित हुनुका साथै लक्ष्यअनुसार राजस्व संकलनसमेत हुन नसकेको उनको भनाई छ ।
उक्त नाका जोड्ने सडक बर्सेनि अवरुद्ध हुने हुँदा चीनसँको आयात व्यापार प्रभावित हुँदै आएको छ । गत वर्ष पनि असारदेखि असोजसम्म सडक अवरुद्ध हुँदा दशैं र तिहारका लागि आयात गरिएका मालवस्तु नेपाल भित्रन पाएको थिएन । व्यवसायीले करोडौं रुपैयाँ नोक्सान बेहोरेका थिए ।
सडक अवरुद्ध हुँदा नेपालमा मात्र होइन चिनियाँ गोदाम र सडकमा थुप्रिएका मालवस्तु नेपाल प्रवेश गराउन समस्या भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताएका छन् । सरकारले उत्तरी नाकाको समस्याका विषयमा बेवास्ता गरेको उनको भनाई छ ।
‘नेपाली बजारमा पाइने धेरै उपभोग्य वस्तु चीनबाट आयात हुने गरेको छ,’ उनले भने, ‘तर सरकारले नाकालाई सहज बनाउन ध्यान दिएको देखिएन, यसबाट व्यवसायी मारमा परेका छन् ।’ हरेक वर्ष झन्झट बेहोनु पर्दा धेरै व्यवसायीहरुको व्यवसायन नै संकटमा परेको उनको भनाई छ ।
उनका अनुसार, चीनसँगको सडक जोडिएको नाका तातोपानी, रसुवा र कोराला हो । तर रसुवा जोड्ने सडक गतवर्ष निकै क्षति गरेकाले यो वर्ष पनि अवरुद्ध भइरहेको छ । रसुवामा कन्टेर पार्किङस्थलसमेत नभएको उनी बताउँछन् ।
कोराला नाका काठमाडौंबाट धेरै टाढा भएकाले ठूलै समस्या परेकाबेला बाहेक कम प्रयोग हुने गरेको छ । त्यसमा पनि कोराला नाका जाडो महिनामा अत्याधिक चिसो हने हुँदा कर्मचारीहरु काम गर्नै सक्दैनन र नाका बन्द गर्न बाध्य हुने उनी बताउँछन् ।
उक्त सडकको खण्डको मर्मतका लागि गत आर्थिक वर्षमा टेन्डरसमेत भएर काम सुरु गरिएको थियो । तर सरकारले उक्त सडक चीन सरकारले बनाउने भन्दै नेपाली ठेकेदार कम्पनीसँगको गत बैशाखमा ठेक्का सम्झौता रद्द गरिएको थियो ।










प्रतिक्रिया