गण्डकी प्रदेशमा रोपाइँ ९९.३९ प्रतिशत


गण्डकी । गण्डकी प्रदेशमा हालसम्म ९९.३९ प्रतिशत रोपाइँ भइसकेको छ । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार ९३ हजार ६०६ हेक्टरमा रोपाइँ भइसकेको छ ।

छिटपुटबाहेक अधिकांश क्षेत्रमा रोपाइँ सकिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीले बताए । साउन अन्तिमसम्ममा सबै ठाउँमा रोपाइँ भइसक्ने उनको भनाइ छ । प्रदेशको कूल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी करिब एक लाख हेक्टरमा धानखेती हुने गरेको छ ।

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धानखेतीको क्षेत्रफल बढी छ । हिमालपारिका मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ । पछिल्लो समय प्रदेशमा रोपाइँको क्षेत्रफल भने बर्सेनि घट्दै गएको पाइएको कृषि अर्थविज्ञ अधिकारीले बताए ।

चार वर्षअघि ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । त्यसपछिको वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटियो ।

गत आवमा ९४ हजार १८२ हेक्टरमा रोपाइँ भएको थियो । जग्गा खण्डीकरण, बाँझो छाड्ने प्रवृत्ति र खेतीयोग्य जमिनमा बस्ती विस्तार तथा पूर्वाधार विकासले धानखेतीको क्षेत्रफल घट्दै गएको पाइएको हो ।

गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिँदैआएको छ ।

गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानखेतीको पकेट क्षेत्र हुन् ।

यस्तै पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायत क्षेत्रलाई धानका लागि पकेट क्षेत्र तोकिएको छ ।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार  १७ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।