प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

0
Shares

नोटबजार 
काठमाडौं, १ बैशाख।

काठमाडौँ महानगरपालिका–१५ चमतीमा प्रहरीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा लत्ताकपडा बोकेर आउँदै गरेको बा ५ ख ४८४२ नंको बसमा जाँच गर्ने क्रममा प्रहरीलाई रु तीन लाख ५० हजार दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने बस चालक समेत तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बसका चालक काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने सर्लाहीका श्याम विश्वकर्मा, काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने सुर्खेतका दीपा रानामगर र नुवाकोट ककनी गाउँपालिका–२ का भरत तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले गए राति उक्त बस जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको लत्ताकपडा बरामद गर्न खोज्दा प्रहरीलाई घुस दिन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका– ३० का वीरबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–३ टोखाबाट ४० वर्षीय नरबहादुर क्षेत्रीसहित नौ जनालाई रु दुई लाख ३६ हजारसहित पक्राउ गरिएको छ ।