लुक्लाको मौसम प्रतिकुल हुँदा पर्यटकलाई सास्ती


लुक्लामा मौसम खराब भएपछि एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिएका छन् । लुक्लाहुँदै सगरमाथालगायतका क्षेत्रमा पदयात्रा तथा घुम्न जाने स्वदेशी र विदेशी पर्यटक मन्थली विमानस्थल हुँदै त्यसतर्फ जाने गरेका छन् ।
काठमाडौँलगायतका विभिन्न स्थानबाट मन्थली आइपुगेका पर्यटकहरु लुक्लाको मौसम उडानयोग्य नभएपछि मन्थलीमै रोकिएका हुन् । मौसममा सुधार नआएपछि केही पर्यटक भने अन्यत्रैको गन्तव्यतर्फ लागेका छन् भने केही पर्यटक सडकमार्गबाट सोलुखुम्बुतर्फ लागेको यहाँका पर्यटन व्यवसायीले जनाएका छन् ।
सोलुखुम्बुको खुम्बु क्षेत्रको मौसम खराब हुँदा सोमबारदेखि मन्थली लुक्ला नियमति उडान हुन नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरण रामेछाप कार्यालयका सूचना अधिकारी प्रज्जवल गुरागाइँले जानकारी दिए । “सोमबारदेखि यहाँ पर्यटक रोकिएका छन्, बुधबार केही उडान भएपनि त्यसयता फेरि उडान प्रभावित भएको छ”, उनले भने ।
उनका अनुसार बिहीबार मात्रै विभिन्न कम्पनीका हेलिकप्टहरुले २८ वटा उडानमार्फत एक सय ३५ पर्यटकलाई सोलुको फाप्लु तथा सुर्के पु¥याएका थिए ।  नियमित उडान नहुँदा मन्थलीमा एक हजार तीन सयभन्दा बढी पर्यटकहरु रोकिएका छन् ।
हवाई उडान प्रभावित हुँदा दैनिकजसो मन्थलीमा पर्यटक बढिरहेकाले होटलमा समेत रुम पाउन मुस्किल भइसकेको जनाइएको छ । हाल मन्थलीका होटलसँगै यहाँका होमस्टे पनि पर्यटकले भरिभराउ भएको होटल तथा पर्यटक व्यवसायी सङ्घले जनाएको छ ।
शरद ऋतु पर्यटकका लागि उपयुक्त समय भएका कारण  यस बेला रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमण गर्ने पर्यटक बढेका छन् ।
नागरिक उडययन प्राधिकरण रामेछापका कार्यलय प्रमुख हिरोण शाहले अनुकुल मौसम भएका समयमा मन्थली विमानस्थलबाट दैनिक ५५ वटासम्म उडान हुने गरेको बताए । उनका अनुसार बुधबार विमान कम्पनीका विमानले १८ वटा उडानमार्फत तीन सयभन्दा बढी पर्यटकलाई मन्थलीबाट लुक्ला पु¥याउने र लुक्लामा रोकिएकालाई मन्थली ल्याएका थिए ।

प्रकाशित मिति: २ कात्तिक २०८१, शुक्रबार  १५ : ३८ बजे