रिलायन्स लाइफको ६३ करोडको आईपीओ भदौ ४ गतेदेखि खुल्ने

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। नयाँ जीवन बीमा कम्पनीमा आईपीओ जारी गर्ने रिलायन्स पहिलो हुनेछ ।

इन्स्योरेन्सले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

सर्वसाधारणले रिलायन्सको आईपीओमा छिटोमा भदौ ४ गतेदेखी ८ गतेसम्म आवेदन दिन सक्नेछन्। छिटो अवधिसम्ममा सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा निष्काशन अवधि भदौ २२ गतेसम्म लम्बिने इन्स्योरेन्सले जनाएको छ।

इच्छुक लगानीकर्ताहरु न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्ने इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग दिएको छ। यसले इन्स्योरेन्सको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ। एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता भइसकेको छ । ६३ करोडको आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ।

रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथौ त्रैसाससम्ममा एक अर्ब ३६ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले सो अवधिमा १७ हजार ८८९ बीमालेख जारी गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ४ करोड ३३ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको नाफा ४८।४५ प्रतिशतले वृद्धि भएको हो।

एक अर्ब ४७ लाख रुपैयाँ रहेको चुक्ता पूँजी इन्स्योरेन्सको जगेडा कोषमा १४ करोड ३२ लाख रुपैयाँ, जीवन बीमा कोषमा एक अर्ब १४ करोड रुपैयाँ र महाविपत्ति कोषमा एक करोड ५९ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९५ पैसा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।