३ विकास बैंक र ४ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा


नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१\८२ को पहिलो त्रैमासमा नियम उलङ्खन गर्ने तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । ऐन विपरीत काम गर्ने उक्त कम्पनी केन्द्रीय बैंकको कारवाहीमा परेका हुन् ।

कारबाहीमा पर्नेमा बैंकहरु तर्फ सिन्धु विकास बैंक, सालपा विकास बैंक र मितेरी डेभलपमेन्ट बैंक रहेका छन् भने फाइनान्सहरुमा प्रोग्रेसिभ फाइनान्स, जानकी फाइनान्स, गोर्खाज फाइनान्स र रिलायन्स फाइनान्स रहेका छन् ।

राष्ट्र बैंकले ३ विकास बैंक र चार फाइनान्स कम्पनीका संचालक र प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई सचेत गराएको छ भने रिलायन्स फाइनान्सलाई जरिवाना तिराएको छ ।

राष्ट्र बैंकले सञ्चिति मौज्दात कायम नगरेका कारण रिलायन्स फाइनान्सलाई ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएकोे छ । यस्तै, सिन्धु विकास बैंक र सालप विकास बैंकले वित्तीय विवरण बुझाउन ढिलाइ गरेको, मितेरी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको निर्देशन विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरेकोले संचालक समिति र सीइओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै प्रोग्रेसिभ र जानकी फाइनान्सले वित्तीय विवरण बुझाउन ढिलाइ गरेकाले कारवाहीमा परेका हुन् भने गोर्खाज फाइनान्सले स्वार्थ बाझिने गरी ग्राहकसँग कारोबार गरेकोले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । गोर्खाज फाइनान्स तत्कालीन अध्यक्ष–संचालक संस्थाको ऋणी–ग्राहकसंग संस्थामा नै खोलिएका खाताहरु मार्फत् आर्थिक कारोबारमा पटक पटक संलग्न भएको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, राष्ट्र बैंकले गोर्खाज फाइनान्सका तत्कालीन अध्यक्ष–सञ्चालकले आफुहरु संलग्न रहेको सहकारी संस्थाको कर्मचारीलाई विभिन्न कर्जा प्रदान गरी निजहरुसँग पटक पटक आर्थिक कारोबार गरेको पाइएको तर त्यस्तो कैफियतजन्य कार्य भइरहँदा समेत व्यवस्थापन तथा संचालक समितिले निगरानी कार्यलाई चुस्त नराखेको भन्दै सचेत गराएको राष्ट्र बैंकको भनाई छ ।

प्रकाशित मिति: ६ कात्तिक २०८१, मंगलबार  ०८ : ४४ बजे