वित्तीय विवरण विश्लेषण गरेर शेयर खरीद बिक्री गर्दै लगानीकर्ता

0
Shares

शेयर बजारमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्न थालेपछि लगानीकर्ताले समेत विवरण विश्लेषण गरेर खरीद बिक्री गर्न थालेका छन् ।

हालसम्म वित्तीय विवरण प्रकाशित गरेका कम्पनीहरुले मिश्रित प्रकारको विवरण सार्वजनिक गरेका छन् । कोरोना कहरकाबीच पनि कतिपय कम्पनीले आकर्षक नाफा बढोत्तरी गरेको विवरण प्रकाशित गरेका छन् भने कतिपयको प्रगतिमा वाधा पुगेको देखिन्छ ।

गत आर्थिक वर्षमा नाफा कमाएका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । त्यस्तै केही समय अगाडि आईपीओ जारी गरेर सूचीकृत भएका नयाँ कम्पनीहरुको शेयर मागसमेत बढेको छ ।

अझै अधिकांश वाणिज्य बैंक र ठूला कम्पनीहरुको वित्तीय विवरण आउन बाँकी रहेकाले शेयर लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । प्रकाशित भएका कम्पनीहरुको विवरणको आधारमा वित्तीय विवरण प्रकाशित नगरेका कम्पनीको आँकलनमा पनि लगानीकर्ता जुटेका छन्।

बैंक तथा वित्तीय संस्थामा लकडाउनको प्रभाव मिश्रित रुपमा देखिएकाले पनि लगानीकर्ताहरु सबै कम्पनीहरुको नाफा प्रभावित नहुनेमा विस्वस्थ देखिएका छन् । सूचीकृत कम्पनीहरुले अहिले सार्वजनिक गरेको वित्तीय विवरणको आधारमा लाभांश घोषणा हुने भएकाले पनि लगानीकर्ताहरु लाभांशको लेखाजोखामा समेत लागेर शेयर खरीद बिक्रीमा केन्द्रित हुन थालेका छन् ।

बुधबार नेप्से १.५१ अंकले बढेर १ हजार ४ सय २५ विन्दुमा बन्द भएको छ । यसदिन १८८ वटा कम्पनीको ३० लाख ३२ हजार कित्ता शेयर ९५ करोड १९ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । कारोबारमा आएकामध्ये ४५ वटाको शेयर मूल्य बढेको छ भने ८५ वटाको घटेको छ। त्यस्तै १८ वटा कम्पनीको स्थिर रह्यो ।

बुधबारको कारोबारमा ६ समुहको सूचक उकालो लागेको छ। बैंक, बीमा र लघुवित्तका शेयरमा बढी आकर्षित छन्। । सबैभन्दा धेरै निर्जीवन बिमा समूह ३९।०८ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक ३।८१ विन्दुले माथि लागेको छ ।

बुधबारको कारोबारमा साधना लघुवित्त र घलेम्दी हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आइएमई जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, नेपाल बंलादेश बैंक, युनाइटेड फाइनान्स लगायतको शेयर मूल्य बढेको छ ।

युनियन हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ६।५ प्रतिशतले घटेको् छ । आँखु खोला हाइड्रोपावर, नेपाल फाइनान्स, गुँरास लघुवित्त तथा पोखरा फाइनान्स लगायतको शेयरमूल्य घटेको छ।

सबैभन्दा बढी शेयर कारोबार युनाइटेड इन्स्योरेन्सको भएको छ । कम्पनीको ६ करोड १६ लाख ६० हजारको शेयर कारोबार किनबेच भयो । नेपाल पुर्नबीमा कम्पनीको ६ करोड ३ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।