कर नतिर्ने ४३ व्यवसायीको बैंक खाता रोक्का गर्ने राजश्वको चेतावनी

0
Shares

आन्तरिक राजस्व विभागले कर नतिर्ने ४३ व्यवसायीको बैंक खाता रोक्का गर्ने चेतावनी दिएको छ । आन्तरिक राजश्व कार्यालय हेटौंडा मकावनपुरले मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर नतिर्ने विभिन्न ४३ जना व्यवसायी तथा फर्मलाई सो चेतावनी दिएको हो ।

राजश्व कार्यालयले ति कम्पनीहरुलाई पत्राचार गर्दा पनि हालसम्म सम्पर्क नआएको तथा बक्यौता रकम नतिरेको भन्दै १५ दिने सार्वजनिक सूचना जारी गरेको छ । सूचना जारी गरेको १५ दिनभित्र कर तिर्न सम्पर्कमा नआएमा सम्बन्धित उद्योगी व्यवसायीको चल अचल सम्पती समेत जफत गरिने कार्यालयले जानकारी दिएको छ ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र फरफारक नभएका आयकर ऐन २०५८ तथा मूल्य अभिवृद्धि कर ऐन २०५२ अनुसार कारबाही गरिने राजश्व कार्यालयले जनाएको छ । जस अनुरुप प्रोपाईटर, संचालक तथा साझेदारहरुलाई व्यक्तिगत रुपमा जिम्मेवार बनाई त्यस्ता व्यक्तिहरुको चल अचल सम्पती कब्जा गरी लिलाम गर्ने, बैंक खाता रोक्का गरी प्रत्येक फर्मको कारोबार समेत रोक्का गरिने कार्यालयले जानकारी दिएको छ ।