बैंकहरुले सेवा शुल्कबाटै कमाए २३ अर्ब, कुल आम्दानीमा १४ प्रतिशत योगदान

0
Shares

बैंकहरुले गत आर्थिक वर्षमा सेवा बिक्रीमार्फत मात्रै २३ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । बैंकहरुले गरेको यो आम्दानी कुल सञ्चालन आम्दानीको औसत १४ प्रतिशत हो ।

गत आर्थिक वर्षमा सञ्चालनमा रहेको २७ वाणिज्य बैंकहरुले १ खर्ब ६५ अर्ब ६५ करोड रुपैयाँ कुल सञ्चलान आम्दानी गरेका छन् । यसमा बैंकहरुले सेवा बिक्री गरेको आम्दानीको हिस्सा २३ अर्ब रुपैयाँ अर्थात १३.९४ प्रतिशत छ ।

बैंकहरुको आम्दानीको प्रमुख स्रोत भने ब्याज आम्दानी हो । गत आर्थिक वर्षमा बैंकहरुको खुद ब्याज आम्दानी १.५ प्रतिशतले बढ्दा खुद नाफा करिब १४ प्रतिशतले घटेको छ । बैंकहरुको फि एण्ड कमिसन आम्दानी भने ५.२४ प्रतिशतले बढेको छ । गत आवमा बैंकहरुको ब्याज आम्दानीभन्दा पनि सेवा बिक्रीमार्फत भएको आम्दानीको वृद्धिदर ठूलो छ । यसले बैंकले उच्च दरको सेवा शुल्कमा बैंकिङ व्यवसाय गर्दै आएको स्पष्ट हुन्छ । त्यसका साथै बैंकले आम्दानी बढाउन गैर बैंकिङ व्यवसायलाई पनि उत्तिकै महत्व दिएको देखिन्छ ।

अन्तराष्ट्रिय अभ्यास अनुसार बैंकहरुले कुल आम्दानीको २० प्रतिशतसम्म सेवा बिक्री मार्फत आम्दानी गर्ने गरेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बताए । “नेपालको सन्दर्भमा केही बैंकको २० प्रतिशत भन्दा माथि भए पनि औसतमा १३ देखि १४ प्रतिशतसम्म हुनु भनेको सामान्य हो,” उनले भने, “धेरै योजनाहरु सञ्चालन गर्ने तथा ग्राहक धेरै भएको बैंकको सेवा शुल्कवाट हुने आम्दानी पनि धेरै हुन्छ ।” 

तर, केही बैंकहरुले भने कर्जा नवीकरण तथा कर्जा प्रवाह गर्दा सेवाशुल्क ४ प्रतिशतसम्म लिने गरेको गुनासो सर्वसाधारणको छ । बैंकले गरेको फि तथा कमीसन आम्दानीलाई हेर्दा पनि बैंकिङ सेवा महंगो दरको रहेको एक अर्का बैंकरको भनाई छ।

गत आर्थिक वर्षमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन गरेको थियो । लकडाउनका अवधिमा नेपाल राष्ट्र बैंकले विभिन्न नवीकरणका सेवा शुल्क लिन नपाइने व्यवस्था गरेकाले पनि फि कमिसन आम्दानी वृद्धिदरमा कमी आएको हो । नेपाल राष्ट्र बैंकले भौतिक भन्दा पनि विद्युतीय कारोबार गर्न प्रोत्साहन गरेर र सेवा शुल्कमा सिमा लगाएपछि सो शिर्षकमा हुने आम्दानी कम भएको हो । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकहरुको फि तथा कमिसनवाट हुने आम्दानी करीब आधाले घटेको छ ।

केन्द्रीय बैंकले बैंकहरुले मनलाग्दी सेवा शुल्क लिन थालेपछि चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत त्यसलाइ पनि सीमा लगाएको छ । इजाजतपत्रप्राप्त संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिंदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन नपाइने व्यवस्था गरेको छ ।

नोट : रकमलाई हजारमा देखाइएको छ ।

नोट : रकमलाई हजारमा देखाइएको छ ।

तर, ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिने छैन । कर्जा प्रवाह गर्दा लिने सेवा शुल्क, अग्रिम भुक्तानी शुल्क र प्रतिवद्धता शुल्क बाहेक अन्य कुनै पनि शुल्क लिन पाइनेछैन । कर्जासँग सम्बन्धित सम्पूर्ण लागत ब्याजदरमा नै प्रतिबिम्वित हुनुपर्ने ब्यवस्था केन्द्रीय बैंकले गरेको छ । “क”, “ख” र “ग”, वर्गका बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृति गर्दासेवा शुल्क वापत क्रमशः अधिकतम ०.७५ प्रतिशत, १.०० प्रतिशत, १.२५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउनेछन ।

तर, नवीकरण हुने प्रकृतिका चालु पूँजी कर्जामा नवीकरण शुल्क र प्रतिवद्धता शुल्क, अग्रिम भुक्तानी शुल्क तथा कर्जा स्वाप हुँदा लिने स्वाप शुल्कको हकमा माथि उल्लेखित सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म शुल्क लिन यस व्यवस्थाले बाधा पु¥याएको मानिने छैन ।

लघुवित्त वित्तीय संस्थाहरुलाई विपन्न वर्ग कर्जा प्रवाह गर्दा ०.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिन पाउदैनन । कर्जाको सीमा वृद्धि गरिएमा वृद्धि भएको रकममा मात्र तोकिएको सीमाभित्र रही सेवा शुल्क लिन सकिनेछ । किस्तामा भुक्तानी हुने मध्यम तथा दीर्घकालीन कर्जामा कर्जाको अवधिभर लगायत अन्य कुनै पनि शीर्षकमा शुल्क लिन पाउदैनन । उल्लेख भएका बाहेक अन्य जुनसुकै शीर्षकमा शुल्क लिएको वा तोकिएको सीमा भन्दा बढी शुल्क लिएको पाइएमा सो शुल्कमा १० प्रतिशत थप गरी ग्राहकको खातामा जम्मा गर्नु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

सञ्चालन आम्दानीमा सेवा शुल्क तथा कमिसनको हिस्सा नेपाल बंगलादेश बैंकको धेरै छ । गत आर्थिक वर्षमा बैंकको सञ्चालन आम्दानी ४ अर्ब २२ करोड २१ लाख गरेको बैंकले सेवा शुल्क तथा कमिसन वापत १ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरेको छ । बैंकको कुल सञ्चालन आम्दानीमा सेवाशुल्क तथा कमिसन आम्दानीको २६ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा सेवाशुल्क बिक्री गरेर २ अर्बभन्दा धेरै आम्दानी गर्नेमा एनआइसी एशिया बैंक । तर, सेवा शुल्क तथा कमीसनवाट एक अर्बभन्दा धेरै गर्ने ६ वाणिज्य बैंक छन् । गत आवमा सबैभन्दा धेरै सञ्चालन आम्दानी गर्नेमा एनआइसी एसिया बैंक रहेको छ । सो अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १० अर्ब ७२ करोड रुपैयाँ रहेको छ । यो सञ्चालन आम्दानीमा बैंकको शेवा शुल्क तथा कमिसन आम्दानीको हिस्सा २३.१६ प्रतिशत रहेको छ । बैंकले गत आवमा सेवाशुल्क तथा कमिसनवाट २ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ गरेको छ ।

तर, गत आवमा १० अर्ब ६० करोड सञ्चालन आम्दानी गरेको राष्ट्रिय बाणिज्य बैंकले ६५ करोड ३८ लाख रुपैयाँ मात्र सेवा शुल्क तथा कमिसन आम्दानी गरेको छ । बैंकको कुल सञ्चालन आम्दानीमा सेवा शुल्क तथा कमिसनको हिस्सा ६.१७ प्रतिशत मात्र छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।