मनपरी भाडा वृद्धि गरी यात्रु ठग्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने मन्त्री पाण्डेको चेतावनी


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । पत्रकारहरुसँगको कुराकानीमा मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्र लिन वायुसेवा कम्पनीलाई निर्देशन दिए । गत शुक्रवारदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम सुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । सो विषयमा उनले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए ।

तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको बताए । हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महंगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको बताए । अहिले क्रमिक रुपमा हवाई भाडादर पुरानै मूल्यमा आएको बताए । सस्तो टिकट कतिको र महँगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको बताए ।

उनले भने, ‘टिकटको कुरा गर्नुभयो । मैले टिकटको मूल्य बढेपछि परराष्ट्रमन्त्री, श्रममन्त्री र म बसेर र केही सरोकारवाला साथीहरु हाम्रो मन्त्रालयको समन्वयमा क्यानमा विमान सञ्चालकहरु र तिनीहरुका प्रतिनिधिहरुलाई राख्यौँ । टिकट बढेका विषयमा उहाँहरुलाई ५ बुँदे निर्णय गरेका छौँ । उहाँहरु त्यो निर्णयमा सहभागी हुनुहुन्छ । ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने भनेर महँगोमा बेचिएको कुरा आयो, त्यो रोक्नुस् भनेका छौँ ।’

केही कम्प्लेन भएमा क्यानको उच्चपदस्थ कर्मचारीको नम्बरसहित निर्णय सार्वजनिक गरिएको उनले बताए । मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान विस्तार गर्न मन्त्रालयले योजनाबद्ध रुपमा काम अघि बढाइरहेको बताए । उनले भैरहवामा अहिले ५ वटा एयरलाइन्सहरुले उडान गरिरहेको र यसलाई १० वटासम्म बनाउनेगरी काम भइरहेको बताए । उनले पोखरामा उडानका गतिविधि बढाउने गरी आफू अघि बढिरहेको बताए। आफूले निजी क्षेत्रहरुसँग पनि उडान विस्तारका लागि आवश्यक छलफल अघि बढाएको मन्त्री पाण्डेको भनाइ छ ।

उनले भने, ‘अहिले केही एयरलाइन्सहरु त्यहाँ गएका छन् । उनीहरुलाई त्यहाँ दिगो रुपमा राख्नका लागि सरकारको तर्फबाट गर्ने भनिएको कार्ययोजना र कार्ययोजना अन्तर्गतका कामहरु के कति भएका छन् र के कति गर्नुपर्नेछ भन्ने कुराको फलोअप गरिरहेको छु ।’

लुम्बिनी विकास कोषका पदाधिकारीसँग पनि आफूले छलफल गरेको उनले बताए । भैरहवा विमानस्थल चल्ने भनेको लुम्बिनीले जति आकर्षण थप्न सक्यो, जति लुम्बिनीमा मानिस निम्त्याउनसक्यो, त्यति नै भैरहवा विमानस्थलको आकर्षण बढ्छ उनले भने ।

‘भैरहवामा ५ विमान आइसके १० कसरी पुर्‍याउने र त्यसलाई दिगो कसरी बनाउने रु ठिक त्यस्तै काम पोखरामा कसरी गर्ने भनेर मैले देखेको भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बन्नसक्छ’ मन्त्री पाण्डेले भने, “पोखरा पर्यटकीय दृष्टिकोणले आउने, नेचर, एड्भेन्चरका लागि आउनेलाई केन्द्र बनाएर उडान गर्नुपर्छ । त्रिभुवन विमानस्थलबाट हाइ प्रोफाइल मानिसहरु सङ्घीय राजधानीमा आउनेहरुमा फोकस गरेर काम गरिरहेको छु ।”

प्रकाशित मिति: २ मंसिर २०८१, आइतबार  ११ : ११ बजे