पेट्रोलियम पदार्थ आयातमा बाहिरियो ७६ अर्ब


पेट्रोलियम पदार्थ आयातमा ७६ अर्ब १ करोड रुपैयाँ बाहिरिएको छ । भन्सार विभागका अनुसार चार महिना (साउन–कात्तिक)ं सम्म पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, ग्यास र हवाइ इन्धन) मा ७६ अर्ब १ करोड ९७ लाख रुपैयाँ बाहिरिएको हो ।

कात्तिक मसान्तसम्ममा २९ अर्ब चार करोड २० लाख रुपैयाँ बराबरको डिजेल, २१ अर्ब ५६ करोड २९ लाख बराबरको पेट्रोल, १८ अर्ब ८५ करोड ९३ लाख बराबरको एलपी ग्यास र ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको हवाए इन्धन आयात भएको छ।

पेट्रोलियम पदार्थ पछि सबैभन्दा धेरै आइरन र स्टिल आयातमा खर्च भएको पाइएको छ । आइरन र स्टिल आयातमा ४२ अर्ब ५८ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, विद्युतीय उपकरण र पाट्र्स आयातमा ३६ अर्ब ९५ करोड विदेशिएको छ ।

बढी निर्यात भएका वस्तुमा भने कार्पेट पहिलो स्थानमा देखिएको छ। चार महिनामा तीन अर्ब ६० करोड आठ लाख बराबरको कार्पेट निर्यात भएको छ। त्यस्तै सोयाबिन तेल तीन अर्ब ४१ करोड, चिया दुई अर्ब २१ करोड र अलैँची एक अर्ब ९० करोड बराबरको निर्यात भएको छ।

भन्सार विभागका अनुसार साउन–कात्तिकमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ०.१७ प्रतिशतमात्र धेरै हो । अघिल्लो आव कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड बराबर वस्तु आयात भएको थियो ।

प्रकाशित मिति: ९ मंसिर २०८१, आइतबार  १० : १९ बजे