नेपालको कन्ट्री रेटिङ बीबी माइनस ग्रेड सञ्जिवनी बुटी बन्ने सिबिफिनको विश्वास


बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ ले गरेको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले पाएको ‘बीबी माइनस’ ग्रेडले उत्साह थपेको जनाएको छ । दक्षिण एशियाका अन्य मुलुकहरुमध्ये छिमेकी मित्रराष्ट्र भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्याङ्कनको प्राप्तिले नेपालको विश्वसनीयता बढाएको परिसंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो स्थान भएको प्रमाणित उक्त ग्रेडले गरेको परिसंघको बुझाइ छ । मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु निकै बलियो स्थितिमा रहेको, पर्याप्त तरलतासहित न्यून ब्याजदर कायम हुँदाहुँदै पनि अपेक्षितरुपमा लगानी/कर्जा विस्तार हुन नसकि आर्थिक गतिविधिहरुले तीव्रता लिन नसकिरहेको अवस्थामा समेत यस मूल्याङ्कनले समग्र निजी क्षेत्रमा समेत विश्वासको वातावरण सृजना गरेको परिसंघले जनाएको छ । लगानी विस्तार, कर्जा प्रवाह तथा पूँजी परिचालनको लागि ठूलो अवसर सृजना गरेको सिबिफिनको बुझाइ छ ।

त्यसैगरी यस मूल्याङ्कनले बैंक/वित्तीय संस्थाहरूलाई बाह्य जगतबाट सहुलियत दरमा ऋण ल्याउन, पुनर्बिमा कम्पनीले अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, विदेशी बजारमा ऋण लिन/ऋणपत्र बिक्री गरी वित्तीय साधन जुटाउनका लागि सञ्जिवनी बुटीको कार्य गर्ने सिबिफिनले विश्वास छ । नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई विकासशील राष्ट्रमा दर्ज हुँदै गरेको सन्दर्भमा साख मूल्याङ्कनको क्रममा देखिएका कमीकमजोरीहरुलाई तत्काल सुधार तथा स्तरोन्नतिसहित मौजुदा नीति तथा वातावरणलाई अझ सहज एवं अनुकूल बनाउन आवश्यक रहेको परिसंघको सुझाव छ । समग्र निजी क्षेत्रलाई साथमा लिएर मुलुकलाई लगानी केन्द्रको रुपमा स्थापित गर्न र दिगो एवं फराकिलो आर्थिक एवं बैंकिङ विकाससहित आर्थिक समृद्धिमा अघि बढ्न नेपाल सरकार तथा सरोकारवाला सम्पूर्ण निकायहरुबाट आवश्यक पहलकद्मी तत्काल अगाडि बढाइने अपेक्षा सिबिफिन छ ।

प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार  १४ : २७ बजे