काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने जनाएको छ ।
कोषले बालाचतुर्दशी पर्वका अवसरमा जानकारी दिन बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफैँ बसेर बत्ती बाल्नेका लागि कुनै शुल्क नलाग्ने बताए ।
बत्ती बालेर हिँड्न चाहनेका लागि कोषले नै दुई हजार एक सय रुपैयाँको रसिद काटेर बत्ती कुरिदिने व्यवस्था गर्न लागेको उनले बताए। रातभर बसेर बत्ती बाल्नेलाई शुल्क लिन नपाइने र लिएमा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने कोषाध्यक्ष सुवेदीको भनाइ छ ।
बालाचतुर्दशीका अवसरमा महँगा गहना लगाएर नआउन, सिसा एवं काँचका भाँडा नल्याउन र ढुङ्गा छापिएका स्थानमा सद्बीज नछर्न कोषाध्यक्ष सुवेदीले भक्तजनलाई आग्रह गरे ।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बालाचतुर्दशीका अवसरमा बत्ती कुरिदिने सेवाका लागि कोषका कर्मचारीबाहेक अरुले अनधिकृत रुपमा पैसा उठाए सुरक्षामा खटिएका प्रहरीलाई जानकारी दिन आग्रह गरे ।
बत्तीको सङ्कल्प गरेर फर्कनेलाई मात्र दुई हजार एक सय रुपैयाँ शुल्क लिने उल्लेख गर्दै उनले सो शुल्क कोषका कर्मचारीले लिने बताए ।
प्रतिक्रिया