चुनावी तयारीमा धितोपत्र ब्रोकर, राजनीतिक आडमा उम्मेदवारी दिने बढ्दा सर्वसम्मतको सम्भावना टर्दै


धितोपत्र दलाल व्यवसायीहरू अहिले चुनावी तयारीमा जुटेका छन् । नयाँ र पुराना धितोपत्र ब्रोकर एक भएसँगै यही मंसिर २० गतेलाई तय भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएसँगै पुँजी बजारको अग्र पङ्क्तिलाई चुनावी सरगर्मीले छोएको हो ।

गत कात्तिक २८ गते स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल एक आपसमा एककीरण भएका थिए । एककीरण भएसँगै मंसिर २० गतेका लागि नयाँ कार्यसमिति चयन सहितको अधिवेशन स्टक ब्रोकर एसोसिएसनले आह्वान गर्यो । त्यसका लागि धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालका सदस्यहरूले स्टक ब्रोकर एसोसिएसनको सदस्यता लिने निर्णय पनि भयो । सोही अनुसार अहिले सदस्यता दिने र लिने काम पनि भैरहेको छ ।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल पुराना धितोपत्र दलाल कम्पनीको सङ्गठन हो भने धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल नयाँ धितोपत्र व्यवसायीहरूको संस्था हो । नयाँ धितोपत्र दलाल व्यवसायीको लाइसेन्स लिनका लागि पहल गर्न सङ्गठित भएका धितोपत्र दलाल कम्पनीको नेतृत्व सागर ढकालले गरेका थिए । त्यसैगरी पुराना ब्रोकर कम्पनीको सङ्गठनलाई धर्मराज सापकोटाले नेतृत्व गरेका थिए । अहिले एककीरण भएको एसोसिएसनको नेतृत्व पनि सापकोटाले नै गरेका छन । उनको कार्यकाल यही मंसिर २० गतेसम्म मात्र हो ।

आगामी २० गते हुने अधिवेशनमा नयाँ कार्यसमितिको चयन सर्वसम्मत रुपमा गराउनका लागि पुराना धितोपत्र दलाल व्यवसायीहरुले पहल गर्दै आएका छन । त्यसका लागि केही चरणका वार्ता तथा छलफल भएपनि त्यसले हालसम्म कुनै मूर्त रूप पाउन सकेको छैन । पुराना धितोपत्र दलाल कम्पनीहरूले सर्वसम्मत रुपमा सक्षम नेतृत्व चयन गर्नु पर्छ भनेर पहल गर्दा नयाँ धितोपत्र दलालहरू राजनीतिक आड लिएर चुनाव गराउने पक्षमा देखिएका छन् ।

पुराना धितोपत्र ब्रोकरले सर्वसम्मतिमा स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिजापतिलाई नेतृत्वमा ल्याउने पहल गरेका छन । तर, नयाँ धितोपत्र ब्रोकरहरू राजनीतिक खोल ओडेर नेतृत्व आफ्नो पोल्टामा ल्याउन कसरत गरिरहेका छन् । ब्रोकर एसोसिएसनको आगामी नेतृत्वको आकाङ्क्षीहरूमा नेकपा एमाले समर्थित सङ्गठनको कार्यसमिति मै रहेको केही ब्रोकरको दाबी छ । उनीहरूले सोही राजनीतिक आडमा आगामी नेतृत्व पाउनु पर्ने दाबी गर्दै आएको भन्दै ब्रोकरहरुले आलोचना समेत गर्ने गरेका छन् ।

नयाँ धितोपत्र ब्रोकरबाट एशोसिएसनको अध्यक्षका लागि दाबी गर्नेमा सागर ढकाल छज् भने पुराना ब्रोकरको तर्फबाट राजकुमार तिमिल्सिना, गुणनीधि भुसाल र नरेन्द्र सिजापती रहेका छन् । भुसाल गत अधिवेशनमा धर्मराज सापकोटाका प्रतिस्पर्धी हुन् भने एसोसिएसनको महासचिव भएर काम गरिसकेका छन् । पुराना ब्रोकरहरूमा सर्वसम्मत नभएको खण्डमा गुणनिधि भुसालको समर्थनमा जाने पुराना एक ब्रोकरले बताए । “कार्य क्षमताका हिसाबमा पनि भुसाल जी निकै सक्षम व्यक्ति हो,” ती ब्रोकरले भने,“ भुसाल जी को नेतृत्वमा एसोसिएसन अघि बढ्दा समग्र ब्रोकर व्यवसायीहरूलाई नै गर्व गर्ने गरी काम गर्नेमा दुविधा देखिँदैन ।”

एसोसिएसन जस्तो व्यवसायीक संस्थामा राजनीतिक रंग देखाउन नहुने अर्का एक धितोपत्र ब्रोकर बताउँछन् । राजनीतिक आस्था सबैमा हुने भएपनि त्यसलाई एसोसिएसनको नेतृत्व चयनमा प्रयोग गर्नु गलत भएको उनको बुझाइ छ ।

व्यवसायिक संस्थाको नेतृत्व चयनका लागि राजनीतिक शक्ति नै प्रयोग गर्नु गलत भएको उनी बताउँछन् । आगामी अधिवेसनमा सहमति नभएको खण्डमा राजनीतिक दबाबमा निर्वाचन हुने ती ब्रोकरको भनाइ छ । सर्वसम्मत रुपमा नेतृत्व चयन नभएको खण्डमा नयाँ र पुराना ब्रोकर दुई भागमा विभाजित हुने निश्चित छ ।

प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार  १७ : ११ बजे