अन्तर्राष्ट्रिय उडानबाट निगमलाई सात अर्ब आम्दानी, ६३ प्रतिशतले बढे यात्रु

0
Shares

निगमको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय उडानबाट निगमले चालू आवको चैतसम्ममा सात अर्ब ५४ करोड १० लाख ३८ हजार सञ्चालन नाफा कमाएको छ ।
निगमले गत आवको सोही अवधिमा तीन अर्ब ८४ करोड ७१ लाख १५ हजार आम्दानी गरेको थियो । यात्रु सङ्ख्याको आँकडा हेर्दा गत वर्ष २०७४ साउनदेखि २०७५ जेठसम्म तीन लाख ४८ हजार ५२८ यात्रुले निगमको अन्तर्राष्ट्रिय उडानमा यात्रा गरेका छन् ।

यस वर्ष सोही अवधिमा पाँच लाख ६९ हजार ३४ यात्रुले यात्रा गरका छन् । यो आँकडा अघिल्लो वर्षको तुलनामा ६३.५ प्रतिशतले बढी हो ।

सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवामा निगम पहिलो स्थानमा पुग्न सफल भएको छ । उक्त अवधिमा निगमले चार लाख ९३ हजार १७३ यात्रुलाई सेवा पु¥याई आफ्नो बजार हिस्सा ११.७ प्रतिशत पु¥याउन सफल भएको छ ।

निगमले हाल दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रियतर्फ ६ देशका आठ गन्तव्यमा उडान भर्दै आएको छ ।

आन्तरिकतर्फ दुई एम–६०, चार वाई–१२ र तीन डिएचसी–६ गरी जम्मा नौ जहाजमार्फत २२ विमानस्थलमा सेवा सञ्चालन गर्दै आएको छ । निगमले नेपाल आउने ३० विदेशी वायु सेवा प्रदायक कम्पनीलाई भूमिस्थ प्रबन्ध सेवा प्रदान गर्दै आएको छ।