मुगु कर्णाली र अरुण किमाथांका निर्माणका लागि लगानी प्रस्ताव आह्वान


काठमाडौं । सरकारले किमाथांका अरुण जलविद्युत आयोजना र मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन वित्तीय लगानी प्रस्ताव आह्वान गरेको छ ।

विद्युत उत्पादन कम्पनीले आइतबार सार्वजनिक सूचना जारी गरी दुई आयोजना सार्वजनिक निजी साझेदारी ढाँचामा बनाउन वित्तीय लगानी प्रस्ताव आह्वान गरेका प्रस्ताव आह्वान गरेको हो ।

दुई आयोजना निमार्णका लागि ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।  किमाथांका अरुण अर्धजलासय अयोजना आयोजनाको विद्युत उत्पादन क्षमता ४ सय ५४ मेगावट रहेको छ । यो आयोजना निमार्णका लागि ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

यस्तै, १९ सय २ मेगावाटको मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजना निमार्णका लागि ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । स्वपुँजी (इक्विटी) को कम्तीमा ५१ प्रतिशत लगानी गर्न साझेदारी खोजिएको हो । आयोजनाको स्वपुँजी र ऋण लगानी अनुपात २५: ७५ प्रतिशत हुनुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार किमाथांका जलविद्युतका लागि न्यूनतम कबोल मूल्य ९० करोड ८१ लाख ९ हजार ३ सय २ रुपैयाँ तोकिएको छ भने मुगु कर्णालीलाई ४८ करोड ७२ लाख ४३ हजार ४ सय २३ रुपैयाँ तोकिएको छ ।

विद्युत उत्पादन कम्पनीले आयोजना बनाउन स्वदेशी लगानीकर्ता, नेपाली नागरिक मात्र प्रवद्र्धक रहेको कम्पनी र संगठित संस्थाले १५ दिनभित्र आशयपत्र पेश गर्नु पर्ने जारी सूचनामा उल्लेख छ ।

आशयपत्र पेश गर्दा नेपाली नागरिक मात्र प्रबर्धक रहेको कम्पनी वा प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्था भए स्थायी लेखा नम्बर, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, अख्तियार प्रत्यायोजन पत्र र स्वः घोषणा पत्रका प्रत्येक पानामा आफैंले दस्तखत गरी कागजातमा सक्कल बमोजिम नक्कल ठीक छ भनी प्रमाणित गरी प्रतिलिपि पेश गर्नुपर्नेछ ।

एकाउन्न प्रतिशत भन्दा बढी शेयर कबोल गरेको अवस्थामा अनुपातिक रुपमा न्यूनतम कबोल मूल्य कायम हुनेछ । न्यूनतम कबोल मूल्य भन्दा बढी कबोल गरिएको रकमलाई आर्थिक मुल्यांकनको मुख्य मापदण्डको रुपमा लिईनेछ । प्राविधिक प्रस्तावमा न्युनतम साट्टी प्रतिशत प्राप्त गर्ने प्रस्तावको मात्र आर्थिक प्रस्ताव खोलिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०८१, आइतबार  ०९ : १९ बजे